रौतहट १३ जेठ ।। रौतहट जिल्लाको सबै भन्दा पुरानो गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले आफ्नो कार्यकालको पहिलो एक वर्षमा गरेको बिकास कार्य उपलब्धि कार्य प्रतिवेदन सार्वजनिक गरेका छन् ।
एकीकृत समाजवादी पार्टी नेपालको तर्फ उम्मेदवारी दिएका साह २०७९/०१/३० विजयी भई ६ गते कार्यभार संभाली जनताको हकहितका लागी कार्य गर्दै आएका नगर प्रमुख साह ले एक वर्षमा गरेको कार्य प्रतिवेदन शुक्रवार सार्वजनिक गरेका छन् ।
सो अवधिमा वर्षौदेखि अलपत्र रहेको सडक, नाला तथा विद्यालय भवनहरुको कार्य पुरा गरेको उनले दाबी गरेका छन् । एक वर्षको कार्यकालमा नगरभित्रका ३ किलोमिटर आरसीसी सडक ढलान, ३ किलो मिटर नाला, १ किलो मिटर सडक ग्रावेल र १ किलो मिटर नयाँ सडक ट्रयाक खोलेको नगरप्रमुख साहले बताए ।
उनले टाउन हल, विवाह मण्डप, स्मार्ट सिटी अन्तर्गत भित्री बाटो बन्ने कार्य जारी रहेको बताएका छन् । झुलुङ्गे पुल, कलाकुञ्ज पुस्तकालय, नाला, विद्युत् पोल, बानेश्वर मन्दिर, राम जानकी मन्दिर, विभिन्न विद्यालयमा तल्ला थप्ने काम समेत एक वर्षको अवधिमा भएको उनको भनाइ छ ।
मधेश प्रदेशमा न्यूनतम सर्त मापन कार्यमा १ सय ३६ मध्ये नगरपालिका पहिलो भएको पनि उनले जानकारी गराए । सो अवसरमा नगर उपप्रमुख शैलदेवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, नगर प्रवक्ता अर्जन सिंहसहितका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।