रौतहट ०४ माघ ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका स्थित रहेको ऐतिहासिक मैदान राइस मिलको प्रांगणमा हुन गइरहेको श्री श्री अन्नत श्री विष्णु महायज्ञको तयारी तीव्र रुपमा भई रहेको छ । सनातन धर्मको रक्षा, संरक्षण तथा विश्व कल्याण हेतु २०७९ साल फागुन ४ गते देखि हुने महायज्ञको लागि भव्य ९ तल्ले यज्ञ मण्डपको निर्माण कार्य तीव्र रुपमा भई रहेको छ ।

भगवान श्री रामको जन्म भूमि आयोध्या धामको संत श्री राम अनुग्रह दास जी महाराजको विशेष पहलमा हुने महायज्ञको तयारी तीव्र पारिएको श्री विष्णु महायज्ञ आयोजक समितिका अध्यक्ष पवन कुमार गुप्ताले मध्यान्हलाई जानकारी दिए । करिव ४ विघा क्षेत्रफल रहेको राइस मिलको मैदानमा जिल्लाको लागि अतिनै महत्व भएको महायज्ञ हुन लागेको अध्यक्ष गुप्ताको भनाई छ ।

महायज्ञले शान्ति अमन कायम हुनुको साथै सदियौँ देखिको हिन्दू सनातन धर्मको रक्षा, संरक्षणमा ठूलो योगदान पुग्ने गुप्ताको विश्वास रहेको हो । ५१ कुण्डिय महायज्ञको लागि विशाल ९ तल्ले यज्ञ मण्डपको निर्माण भइ रहेको बताउँदै उनले महायज्ञमा नेपाल र भारतका विभिन्न प्रसिद्ध धार्मिक स्थल, धार्मिक गुरु, प्रवचनकर्ता, साधुसन्त महात्माहरुको सहभागिता रहने जनाए ।

करिब २ करोडको लगत रहेको विष्णु महायज्ञ १० दिन सम्म चल्नेछ । पहिलो दिन विशाल कलश शोभा यात्राको आयोजना गरिने छ । कलश शोभा यात्रामा सहभागी हुने १ हजार ८ कन्या कुमारीलाई एउटै रंग भगवा रंगको पोशाक हुनेछन् । पित्तलको कलशसहित निकालिने शोभा यात्रामा बाजागाँजा, हाथी घोडा, रथको साथै हेलिकप्टरबाट पुष्प वर्षा गराउने तयारी समितिको रहेको छ । कलश यात्रामा २५ हजारको संख्यामा स्थानीयहरुको सहभागीता रहने जनाइएको छ ।

नेपाल र भारतबाट आउने दर्शनार्थीको लागि बस्ने तथा खाने सुविधा समेत गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए । अखण्ड रामधुन, ५१ कुण्डमा हवन, वृन्दावनको राशलीला, प्रवचन कथा दैनिक रुपमा हुने श्री राम अन्यग्रह दास महाराजले बताए । महायज्ञमा श्री श्री १००८ श्री अवधेश दास जी महाराज, श्री श्री १००८ श्री जन्मेजय शरण जी महाराजको उपस्थति हुने छन् । अन्तर्राष्ट्रिय कथा प्रवचनकर्ता हेमलता शास्त्री जी कथावाचन गर्ने जानकारी गराइएको छ ।

महायज्ञ सम्पन्न गराउनको लागि नेपाल र भारतका ७५ जना आचार्य रहने आयोजक समितिले जनाएको छ । महायज्ञको शोभा बढाउनको लागि १०८ विभिन्न देवी देवताको प्रतिमा बनाउने कार्य जारी रहेको छ । महायज्ञ हेर्न आउने भक्तजनको मनोरञ्जनको लागि विभिन्न किसिमका खेल तमाशा देखाउने कलाकारको व्यवस्था गरिएको आयोजकले जनाएको हो ।

गौर नगरपालिका, राजदेवी नगरपालिका, इशनाथ नगरपालिका नजिक भएकोले सबैभन्दा बढी दर्शानार्थीहरु सहभागि हुने जनाइएको छ । रौतहट, सर्लाही र बारा जिल्लाको साथै गौर नजिक भारत बिहार राज्यको बैरगनिया, अशोगी, ढेग,चैनपुर, मोतिहारी लगायतका अन्य गाउँशहरबाट अधिक संख्यामा महायज्ञ हेर्न स्थानीय भक्तजन आउने अनुमान गरिएको छ । महायज्ञको लागि गाउँ–गाउँमा सहयोग राशी संकलन हुने कार्य जारी रहेको हुँदा इच्छा अनुसार सहयोग गरी महायज्ञको सफल बनाइदिन आयोजक समितिले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here