काठमाडौं १२ भदौ ।। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले आफ्नो पार्टी कुन गठन्धनमा जाने भन्ने निश्चित नभएको बताएका छन् । “अहिलेसम्म हामी हाम्रैतिर छौं । सत्ता गठबन्धन वा एमाले, कोसँग गठबन्धन हुने निश्चित भएको छैन । छलफल चाहिँ चलिरहेको छ, तर निष्कर्षमा पुगेका छैनौं । अन्तिम समयसम्म मिल्छ होला । बाटोमा हिँडिरहेका बेला बीचमा कसैले लिफ्ट दियो भने न मोटसाइकल वा गाडीमा जान पाइन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने ।

पार्टी आफ्नै बलबुतामा लड्ने तयारी पनि भएको झाले बताए । उनले थपे, “गठबन्धन संस्कृतिको चलेको छ । तर अहिले नै फलानोसँग तालमेल भइहाल्छ भन्ने स्थिति छैन । विन-विन भयो भने त्यो पनि गरिएला । हामीले आफ्नै हिसाबले पार्टी खोल्यौं, एजेन्डा सेट गर्‍यौं र संगठन निर्माण गर्‍यौं । आफ्नै बलबुतामा जाने सोच पनि छ ।

लोसपा सरकारमा जाने कुरा त त्यत्तिकै सेलायो नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता झाले भने, “सत्ता गठबन्धनसँग हाम्रो सहकार्य खास केही थिएन । उसलाई संसद्मा विश्वासको मत दिएका थियौं । तर सरकारमा जाने कुरा मिडियामात्र सीमित भयो । पाँच वर्षमा हामी सरकारमा गएको भनेको १८ दिन त हो नि । प्रधानमन्त्री शेरबहादुर देउवासँग नागरिकता विधेयक मधेस आन्दोलन ताकाका मुद्दाको फर्छ्यौटबारे कुरा भएको थियो । वार्ता त भइहाल्छ नि ।

नागरिकता विधेयकमा राष्ट्रपति विवादमा मुछिनु नहुने पनि उनले औंल्याए । झाले थपे, “हामीले राष्ट्रपतिलाई पनि भेटेर आफ्ना कुरा राखेका छौं । २० वर्ष भइसकेका नानीबाबुहरु अझै पनि नागरिकताविहीन छन् । नेपाली बाउआमाका सन्तान कसरी देशविहीन, राष्ट्रविहीन हुन्छ ? राष्ट्रघात त ठूलाठालुले मात्र गर्न सक्छन् । राष्ट्रपति किन विवादमा मुछिनुपर्‍यो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here