काठमाडौ १० भदौ ।। सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेस गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आ–आफ्नो दाबी पेस गरेका छन् । देशभर प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमात्रै छन् । तर, गठबन्धन कार्यदलमा दलहरुले २२७ सिटमा दाबी पेस गरेका छन् । बैठकमा नेपाली कांग्रेसले १०० सिटमा दाबी पेस गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

नेताहरुका अनुसार यसअघिका बैठकमा दलहरुले सिट संख्यामा औपचारिक दाबी पेस गरेका थिएनन् । ती नेताका अनुसार कार्यदलमा देशभरका कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भन्नेबारे मत विश्लेषणको काम समेत थालेको छ । ‘कुन क्षेत्रमा कसको कस्तो अवस्था छ भनेर सामान्यतः छलफल भएको छ । अब केही होमवर्क आवश्यक छ, त्यो शुक्रबार ४ बजे पुनः बैठक बसेर टुंगोमा पुग्छौँ,’ कार्यदलका ती सदस्यले भने । बिहीबार बिहान बसेको गठबन्धन बैठकले कार्यदललाई शुक्रबारसम्म देशभर संघ र प्रदेशमा कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांक विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले दिएको जिम्मेवारीअनुसार बिहीबारदेखि १६५ वटै निर्वाचन क्षेत्रका अवस्थाबारे समीक्षा भइरहेको बताए । ‘हामीले सबै निर्वाचन क्षेत्रको अवस्था कस्तो छ ? भनेर समीक्षा थालेका छौँ । हामीबीच खुलस्त दाबी प्रस्तुत गर्ने कामसमेत भयो,’ उनले भने, ‘हामी त्यसलाई न्यायसंगत ढंगले टुंगोमा पु¥याउनेछौँ । साउन २० मा गठन भएको कार्यदलले सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि निष्क्रियजस्तै बनेको थियो । सिटको भागबन्डा मिलाउन शीर्ष नेताहरू आफैं छलफलमा जुटेका थिए । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको मतपरिणामको आधारमा कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भन्ने विवरण तयार गर्न पुनः कार्यदललाई नै जिम्मेवारी दिएको थियो ।

शीर्ष नेताहरूले सबै निर्वाचन क्षेत्रमा कसको कस्तो अवस्था छ भनेर प्रतिवेदन तयार गर्न कार्यदललाई निर्देशन दिएको छ, अब त्यहीअनुसार कार्यदलले छलफल थाल्छ,’ उनले भने । बैठकमा सहभागी अर्का नेताले बिहीबारदेखि नै त्यसबारे काम सुरू भइसकेको, र शुक्रबारसम्म कार्यदलले त्यससम्बन्धी प्रतिवेदन गठबन्धनमा बुझाउने तयारी रहेको बताए । कार्यदलले बिहीबारदेखि नै छलफल थालिसकेको छ । ‘गठबन्धनको निर्देशनबमोजिम हामीले सबै निर्वाचन क्षेत्रमा कुन दलको अवस्था के छ भनेर तथ्यांकको विश्लेषण भइरहेको छ,’ ती नेताले भने, ‘अहिले गठबन्धनमा रहेका पाँच दल १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमै चुनावी तालमेल गर्ने भन्ने समझदारी छ । त्यहीअनुसार कार्यदलमा पनि छलफल भइरहेको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा चुनावपछि हुने सत्ता समीकरणमा आफूलाई लाभ हुने गरी सिटको भागबण्डा मिलाउने दाउमा छन् । कार्यदलमा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसले १०० सिट पाउनुपर्ने दाबी गरेका छन् ।

कांग्रेसले १०० सिट नपाए गठबन्धन दलले चाहेजसरी चुनावी तालमेल नहुन सक्छ, त्यो सबैका लागि जोखिमपूर्ण छ, हामीले यहाँबाट सिटको भागबन्डा गर्दैमा मतदाताले जहाँ भन्यो त्यही मतदान गर्दैनन्, १०० सिटभन्दा कम भयो भने कांग्रेसले पार्टीभित्रको शक्ति संघर्षलाई सम्हाल्न सक्दैन,’ थापाको भनाइ छ । थापाले कार्यदलमा गठबन्धन दलका नेताहरू त्रसित हुने गरी देशभरि विद्रोह र स्वतन्त्र उम्मेदवारी हुन सक्ने जोखिमसमेत देखाएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा भने त्योभन्दा लचक भएरै भए पनि चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् । देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेतको विश्वासमा सिट बाँडफाँट कार्यदलको संयोजक बनेका नेता सिटौलाले भने कांग्रेसले ९० सिट राखेर बाँकी सिट अन्य दलबीच भागबन्डा गर्नुपर्ने भन्दै आएका छन् ।

गठबन्धनको एक घटक जनता समाजवादीको बलियो पकड रहेको क्षेत्रमा मधेशमा कांग्रेसको ५० प्रतिशत दाबी छ । त्यसबाहेक सिटमा कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई मिलाएर तालमेलको प्रयास गरिरहेको छ । माओवादी केन्द्रले भने चुनावपछि आफूलाई संसद्को दोस्रो शक्ति बन्ने लक्ष्य लिएर सिटको दाबी गरिरहेको छ । माओवादी एक्लैले ६० सिट दाबी गर्दै आएको छ । ०७४ मा एक सिट जितेको जनमोर्चाले गठबन्धनमा यसपटक दुई सिट दाबी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here