काठमाडौ १० भदौ ।। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव हार्न नमिल्ने बताएका छन् । शुक्रबार एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै जनताको समर्थनबाट एमालेले जित्नै पर्ने बताएका हुन् । ओलीले भने, ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ । जनताको समर्थनबाट जित्नैपर्छ। एमालेले चुनाव हार्न मिल्दैन ।
इतिहासका निर्माता जनता हुन् भनेर बुझ्नुपर्ने ओलीको भनाई छ । ओलीले भने, एमाले विजयीको यात्रामा लम्किनुपर्छ । यस्तो बेलामा हाम्रो अगाडि संघ र प्रदेशको निर्वाचन हुँदैछ । निर्वाचनलाई स्वतन्त्र निष्पक्ष बनाउन प्रभावकारी भुमिका खेल्नुपर्छ । ओलीले समृद्ध नेपाल सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको स्पष्ट पारे । उनले भने, ‘जतिसुकै घेराबन्दी भएपनि हामीले चुनाव जित्नैपर्छ ।
दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन दिएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने ११ वटा एजेन्डा प्रस्तुत भएको छ । चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको शपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने पनि एजेन्डा रहेको छ ।