विराटनगर ०८ साउन ।। विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको सुपारीसहितका आठवटा ट्रक आइतबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । विराटनगर महानगरपालिका-१८ बाट बिहीबार राति सुपारी लोड गरिएका आठवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो । भारततर्फ लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिइएको ठूलो परिणामको सुपारीसहित ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्वको जिम्मा लगाइएको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए ।

‘यसको अनुसन्धान राजस्वले नै गर्ने हो,’ उनले भने, ‘कारबाहीको प्रक्रिया पनि उतैबाट अघि बढ्छ । प्रहरीले बोरामा प्याक गरेर आठवटा भारतीय ट्रकमा लोड गरिएको साढे आठ करोड रूपैयाँभन्दा बढीको सुपारी नियन्त्रणमा लिएको थियो । कार्कीका अनुसार दुई हजार छ सय ७८ बोरा सुपारी नियन्त्रणमा लिइएको हो। सुपारी दुई लाख १९ हजार पाँच सय ९६ किलोग्राम छ ।

सुपारी नेपाली आठ करोड ६३ लाख ८१ हजार पाँच सय ६८ रूपैयाँ बराबरको छ । यसको भारतीय मूल्य पाँच करोड ३९ लाख ८८ हजार चार सय ८० रुपैयाँ हुन्छ । एकैपटक ठूलो परिणाममा भारत लैजाने तयारी हुँदै गर्दा तस्करीको आशंकामा ट्रकसहित सुपारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सुपारी लोड गरिएको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो । विशेष गरेर तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालकै उत्पादन देखाउँदै तस्करी गरेर भारततर्फ लैजाने गरिएको छ ।

ठूलो परिणामको सुपारी नेपालको उत्पादन नभएको र तेस्रो मुलुकबाट आयात गरेर भारत लैजान लागिएको हुनसक्ने भन्दै सीमा क्षेत्रका बासिन्दाले सूचना दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । भारतले नेपालबाहेकका मुलुकबाट सुपारीको आयातमा प्रतिबन्ध गरेको छ । तर इन्डोनेसिया, थाइल्यान्ड, मलेसियालगायतका मुलुकबाट नेपालमा आयात गरेर खुला सीमाको फाइदा उठाउँदै तस्करीमार्फत भारत पुर्‍याउने गरिएको हो ।

भारततर्फ तस्करी गर्नकै लागि बर्सेनि ठूलो परिणाममा सुपारी आयात हुने गरेको छ । विराटनगर भन्सार हुँदै आर्थिक वर्ष २०७८/०७९ मा ५७ लाख ४८ हजार दुई सय ५५ किलो (पाँच हजार सात सय ४८.२५ मेट्रिक टन) सुपारी आयात भएको छ । विभिन्न मुलुकबाट एक अर्ब २६ करोड ६६ लाख ७७ हजार रूपैयाँ बराबरको सुपारी आयात भएको भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले जानकारी दिए ।

उनका अनुसार सुपारी आयातबाट ७५ करोड ४९ लाख ३२ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here