काठमाडौं ०२ भदौ ।। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ । सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाँणको आग्रहमा प्रतिनिधिसभाले विधेयक पारित गर्ने तयारी गरेको हो । विधेयक पारितको सम्भावित कार्यसूची बुधबार नै प्रकाशन भइसकेको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार सरकारसँगको परामर्शका आधारमा कार्यसूची तय भएको हो ।

गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा बिहीबार गृहमन्त्री खाँणले ‘सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस्’ प्रस्ताव पेश गर्नेछन् । त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ । छलफलपछि विधेयक पारित हुनेछ । यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो । यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट ट्र्याक’मै अघि बढेको थियो । विधेयक दफावार छलफल समितिमा नपठाई सदनमै भएको थियो ।

राष्ट्रपतिको सन्देशअनुसार विधेयक पुनर्विचार गर्न चाहेमा प्रक्रिया भने सदनमा पनि पूरा हुन सक्नेछ । संसद्ले विधेयकलाई यथास्थितिमा वा परिमार्जन गरेर पठाउनसक्ने व्यवस्था छ । प्रतिनिधिसभाको प्रक्रिया पूरा भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ । दुवै सदनबाट पारित भएपछि सभामुखले प्रमाणित गर्नेछन् । त्यसपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको १५ दिनभित्र प्रमाणीकरण हुने संवैधानिक व्यवस्था छ ।

यसअघि दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि पठाइएको थियो । तर विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले केही प्रावधानमा ध्यानाकर्षण गराउँदै पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here