विराटनगर ०३ साउ ।। मोरङको कानेपोखरी गाउँपालिका-६ मा ८ वर्षीया बालिकालाई बलात्कार गरिएको घटना लामो सयमसम्म गाउँमै ‘गुपचुप’ राखिएको पत्ता लागेको छ । कानेपोखरी-६ का ४३ वर्षीय काजीमान पुरीले गत माघ ५ गते बालिकालाई बलात्कार गरेको खुलेको हो। घटना सार्वजनिक भएपछि पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

मौखिक रूपमा मिलापत्र गरेर गाउँमै ‘गुपचुप’ पारिएको घटना ६ महिनापछि सार्वजनिक भएको छ । बालिकालाई ६ महिनाअघि बलात्कार गरेको पत्ता लागेको छ,’ मोरङ प्रहरीका डीएसपी राजन कार्कीले भने, ‘घटना सार्वजनिक हुनेवित्तिकै आरोपीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।

कार्कीका अनुसार पुरीले आफ्नै घरमा लगेर बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बलात्कारका बारेमा स्थानीयले थाहा पाएपछि घटनालाई बाहिर नल्याउने शर्तमा सोही दिन मौखिम रूपमा मिलापत्र गराइएको रहेछ ।

डीएसपी कार्कीले पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न पुरीलाई सोमबार पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पीडित परिवारले गत असार ३० गते प्रहरीमा जाहेरी दिएका हुन् ।

कार्कीले बलात्कारलाई ‘गुपचुप’ राखिएको विषयमा अनुसन्धान भइरहेको र घटना लुकाउन भूमिका खेल्नेहरुलाई निगरानीमा राखिएको जानकारी दिए ।

पुरीले गत माघ ५ गते बालिकालाई बलात्कार गरेको स्थानीयले बताए । घटनालाई बाहिर नल्याउने शर्तमा सोही दिन गाउँका अगुवाले धाकधम्की दिँदै पीडित बालिकाकी आमालाई क्षतिपूर्तीवापत केही रकम दिलाएको पनि प्रहरीले जनाएको छ । घटना हुँदा पीडितका बुबा घरमा थिएनन् । जागिरको शिलशीलामा मोरङ बाहिर रहेका बुबा घरमा आएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

‘म घरभन्दा बाहिर थिएँ । यो घटनाका बारेमा मलाई कसैले सुनाएनन्,’ बालिकाका बुबाले भने,’ छोरीलाई पिसाबमा समस्या भएपछि पटकपटक डाक्टरलाई देखाएँ । पछि छोरीले घटनाका बारेमा सुनाइन् । बिरामी परेकी छोरीलाई पिसाब गर्नसमेत गाह्रो हुन थालेपछि सोधीखोजी गर्दा बलात्कार भएको थाहा पाएको उनले सुनाए ।

उनका अनुसार घरमा श्रीमती र छोरी मात्रै थिए । घटना सार्वजनिक गरेमा ज्यान मार्ने धम्की आएका कारण श्रीमतीले पनि बलात्कारको विषयलाई बाहिर ल्याउन नसकेको उनको भनाइ छ । ज्यान मार्ने धम्की आएका कारण श्रीमतीले मलाई सुनाइनन्,’ उनले भने, ‘घरमा आमा- छोरी मात्रै बस्छौ, कसैलाई सुनाए ठीक हुँदैन भन्ने धम्क्याएका रहेछन् ।

छोरीले पनि लामो समयसम्म आफूलाई नभनेको उनले बताए । आफूले घटनाका बारेमा थाहा पाउनेवित्तिकै प्रहरीलाई खबर गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here