काठमाडौं ३२ असार ।। बितेको असार २३ मा चावहिलबाट गोपीकृष्ण हलतर्फ जाने बाटोको होटलमा बसिरहेका शिव लिम्बुलाई सादा पोशाकका प्रहरीले हत्कडी लगाए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट गएका प्रहरीले उनलाई हप्काए– ‘कस्तुरीको विणा कारोबार गर्ने ?’ तर, पाँचथरको तुमबिया गाउँपालिका–५ घर भई कपन बस्दै आएका ४२ वर्षीय लिम्बु कस्तूरीको विणाबारे अनविज्ञ थिए । एकैछिनमा गौशाला वृत्तबाट अर्को टोली गएर उनले होटल अगाडि पार्किङ गरेको मोटरसाइकलको सिटमुनिबाट रातो झोलामा रहेको शंकास्पद वस्तु निकालेर मुचुल्का गरे ।
पार्किङमा राखिएको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलमा भेटिएको विणाबारे आफु अनविज्ञ रहको बताएपछि परिवारले त्यहाँको सिसिटिभी फुटेज हेर्न माग गरे । फुटेज हेर्दा त्यहि साँझ ६ बजेतिर अर्कै मानिसले लगेर सो सामान राखेको देखिएको छ । अहिले लिम्बुलाई जिल्ला वन कार्यालय काठमाडौंले थुनामा राखेको छ । घटना शंकास्पद देखिएपछि उपत्यका प्रहरी कार्यालयले छानविन समिति बनाएको छ । प्रहरी उपरिक्षक दिलिप घिमिरेको नेतृत्वमा छानविन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए । समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना डिएसपी र उपत्यका प्रहरी कार्यालयका इन्स्पेक्टर सदस्य छन् ।
त्यसदिन शिव दिउँसो १ बजेदेखि दिनभर सो होटलमा थिए । उनको बुलेट मोटरसाइकलमा कस्तुरीको विणाजस्तै देखिने वस्तु राखेर फसाउने युवकचाहिँ ५ बजेतिर त्यहाँ पुगेका हुन् । शंकास्पद वस्तु राखेर उनी विपरित दिशामा रहेको सोलु एण्ड संखुवासभा मः म सेन्टरमा गएर बस्छन् । सो वस्तु राखेको ५ मिनेटपछि घटनास्थलमा प्रहरी पुगेका थिए । कपनमा डान्सिङ स्कुल सञ्चालन गर्ने शिवलाई सुराकीले फसाएका हुन् कि सादा पोशाकका प्रहरीको मिलेमतो छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।