काठमाण्डौ, १४ पुस ।। राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताएको छ । कोषले ठाउँ अभावले क्षमताभन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको गुनासो गरेको हाे ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको उपलक्ष्यमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले यस्तो बताउनुभएको हो । कोषका अध्यक्ष ओलीले जाउलाखेल चिडियाखाना ६ हेक्टर जमिनमा फैलिएको र अहिले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

उहाँले भक्तपुरको सूर्यविनायकमा एक सय ५० हेक्टरमा बनिरहेको चिडियाखाना छिटो बनाइदिन आग्रहसमेत गर्नुभयो । उहाँले बाघ, गैँडा लगायतका जङ्गली जनावरको जनसङ्ख्या बढिरहेको, र मानव बस्ती पनि बढिरहेकाले जङ्गली जनावरहरुको संरक्षणस्थल अभाव हुँदै गएको बताउनु भयो । उहाँले जीवजन्तु संरक्षणका लागि फराकिलो ठाउँको आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो चिडियाखाना त्यत्ति ठूलो त होइन, ६ हेक्टर जमिनको छ । अर्को एउटा कुरा सूर्यविनायकमा चलिरहेको छ । करिब करिब एक सय ५० हेक्टर क्षेत्रफलमा व्यवस्थित गर्न पाए बेग्लै किसिमको चिडियाखानाको व्यवस्था गर्न सकिन्थ्यो । अहिले वाइल्ड लाइफको पपुलेसन बढेको छ । बाघको जनसङ्ख्या बढेको छ । गैँडाको जनसङ्ख्या बढेको छ । ह्युमेन क्याजल्टी बढेको छ । त्यसले गर्दा ती जनावरलाई ल्याएर संरक्षण गर्ने ठाउँ साँघुरो भएको छ । यही चिडियाखानामा मात्रै यसको क्षमताले भ्याउने भन्दा बढी छन् । एउटा बाघलाई राख्न मात्रै एक सालको करिव १५ लाख रुपैयाँ चाहिन्छ । यो महँगो पनि छ । व्यवस्था गर्न पनि गाह्रो छ । हामीलाई अलि फराकिलो ठाउँको आवश्यकता परेको छ ।’

उहाँले एउटा बाघका लागि मात्रै वर्षमा १५ लाख रुपैयाँ आवश्यक पर्ने भन्दै जङ्गली जनावरको संरक्षण र व्यवस्थापन गर्न जटिल बन्दै गइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here