विराटनगर ०७ असार ।। विराटनगरबाट मोरङको रंगेलीतर्फ जाँदै गरेको को १ ख ३९८१ नम्बरको यात्रुवाहक बसमा एसिड पोखिँदा मोरङमा मंगलबार दिउँसो पाँच जना घाइते भएका छन् ।
प्रहरीकाअनुसार विराटनगर–रंगेली सडक खण्डअन्तर्गत मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकमा दिउँसो ३:३० बजेतिर घटना भएको हो । घटनामा मोरङको सुनवर्षी नगरपालिका–४ की २२ वर्षीया निता राजवंशी, सुनवर्षी–९ की २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका–८ की ४० वर्षीया सुमित्रा उराउ र भोजपुरको अरुण गाउँपालिका–१ याङपाङका २० वर्षीय विनोद परियार घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दाहिने खुट्टा, अनुहार र घाँटीमा चोट लागेकी निताको अवस्था गम्भीर छ । एसिडका कारण अनुहार, खुट्टा, घाँटी, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका सबै घाइतेको विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते अवस्थाका परियार बसका सहचालक हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले प्रारम्भिक अनुसन्धानबाट सुनचाँदी व्यवसाय गर्दै आएका एक व्यक्तिले बोतलमा बोकेको एसिड बसमा पोखिएको जानकारी दिए । उनका अनुसार चालकले बसमा अचानक ब्रेक लगाउँदा बोतलको बिर्को खुलेपछि छचल्किएर पोखिँदा बसमा यात्रा गरिरहेकाहरुलाई एसिडले लागेको पाइएको छ ।
घटनापछि एसिड बोकेर सार्वजनिक सवारी साधनमा यात्रा गर्ने कटहरी–४ का अन्दाजी २५ वर्षीय राहुल साह फरार बनेका छन् । उनको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए । साह सुनचाँदी व्यवसायी हुन् कि हैनन् भन्ने पनि यकिन हुन बाँकी रहेको उनको भनाइ छ ।