जनकपुरधाम २१ असार ।। जनकपुरबाट अपहरणमा परेका ३ वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ ।भारत सितामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका ७ भमरपुराचोक स्थित डेरा गरि बस्ने हरिओम चौधरीको छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न आरोपमा एकजना महिलालाई समेत प्रहरीले बलकसहित पक्राउ गरेको हो । महोतरीको पिपरा गाउँपालिका ४ बस्ने ५५ वर्षीया मैथुन खातुनलाई बालकसहित प्रहरीले मंगलबार दिउँसो फेला पारेको हो ।

आफ्नै घरमा बालकलाई लिएर खातुन लुकेकी थिइन् । विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरी ती महिलालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

गत असार ६ गते बिहान ७ बजे घर अगाडी खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयले भनेपनि ती महिलाको परिचय खुलेको थिएन ।

प्रहरीलाई जानकारी हुने बितिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिया भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी खातुन उपर अपहरण तथा शरिर बन्धक शिर्षकमा मुद्दा दायर गरि थप अनुसन्धान अगाडी बढाएको एसपी रजौरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here