काठमाडौं ०७ असार ।। राष्ट्रपति विद्यादेवी भण्डारीले योगलाई शिक्षाको अङ्गका रूपमा विकास गर्दै अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउनुपर्ने बताएकी छन् । मंगलबार योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले योगबारे हुने अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

भण्डारीले भौतिक विकासबाट प्राप्त हुने मानवीय खुसीलाई योगाभ्यासबाट प्राप्त हुने सकारात्मक उर्जासँग जोड्दै सुखी‚समुन्नत र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई सफलता प्राप्त हुनेविश्‍वास व्यक्त गरेकी छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्‍वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय हो ।

योग व्यक्तिको शारीरिक‚ मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएको सन्देशमा उल्लेख छ । राष्ट्रपतिबाट जारी सन्देशमा भनिएको छ, ‘योगलाई शारीरिक व्यायामको रूपमा मात्र नभएर चिन्तनसहितको क्रिया मानिएको छ । निश्‍चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने‚ रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने विश्‍वास हाम्रा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।

योगको विकासमा नेपाली सभ्यताको योगदानबारे हाम्रा विद्वान–विदुषी‚अध्येता एवं योग गुरुहरूबाट प्रशस्त प्रकाश पारिएको उनको भनाई छ । सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला‚चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति रहेको बताइएको छ । ‘नेपालको भूमिमा उद्‍भव एवं विकास भएको मानिने शिव‚ जनक‚ बुद्ध‚ किरात र बोन सभ्यतामा योगको विशिष्ट स्थान रहेको छ । यम‚ नियम‚ आसन‚ प्राणायाम‚ प्रत्याहार‚ धारणा‚ ध्यान र समाधिलाई योगका आठ सोपान अर्थात् अष्टाङ्ग योग नामाकरण गरिएको छ । शुभकामना सन्देशमा भनिएको छ,‘हाम्रो सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला‚ चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here