सिरहा २२ चैत ।। दिवा खाजामा अनियमितता गरेको आरोपमा हेडमास्टर पक्राउ परेका छन् । विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहाको विद्यालयबाट एकजना प्रधानाध्यापकलाई पक्राउ गरिएको छ । सिरहाको औरही गाउँपालिका स्थित रहेको आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापक उमेन्द्र कुमार यादवलाई प्रहरीले पक्राउ गरेका छन् ।
निर्वाचन सम्बन्धी अनुगमनमा गएको बेला विद्यालयमा विद्यार्थीहरूलाई बिस्कुट र चाउचाउ खुवाएको देखेपछि बुझ्न जाँदा अनियमितता गरेको फेला परेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । दिवा खाजाका लागि सरकारले रकम दिएको तर विद्यालयले विद्यार्थीलाई चाउचाउ र बिस्कुट खुवाएर अनियमितता गरेको प्रजिअ कवारीले बताए ।
पक्राउ परेका हेडमास्टरलाई अहिले प्रहरी चौकीमा राखिएको र स्कूलका अध्यक्षलाई दिवा खाजाको सबै हिसाब किताब लिएर आउन भनेको उनले भने । सबै कागजात आएपछि छानबिन गरेर मात्र हेडमास्टरलाई छाडिने प्रजिअ कवारीले भने ।