काठमाडौं १९ चैत्र ।। नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रायले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘नेपालका प्रधानमन्त्री देउवाज्यूको भारत भ्रमण सफल भएको छ । उहाँको भ्रमणले सकारात्मक सन्देश गएको छ ।
उनले भ्रमणको दौरान सिमा विवाद समाधानको विषयपनि उठेको भन्दै यो सकारात्मक भएको बताए । उनले भने,‘सिमा विवादलाई राजनीतिकरण नगरीकन, सम्वादको माध्यमबाट हल गर्न दुवै देश गम्भीर भएका छन् । यो राम्रो कुरा हो । छिमेकका बीचमा सिमा विवादका सानातिना समस्या हुन्छन्, यसलाई राजनीतिक विषयवस्तु नबनाउनेगरि सम्वादको माध्यमबाट हल गर्ने सहमति हुनु खुशीको कुरा हो । वार्ताको माध्यमबाट सिमा विवादमा सहमति खोज्ने कुरा भएको छ। यो राम्रो । उनले उर्जा क्षेत्रमा भएको समझदारी पनि धेरै नै सकारात्मक विषय भएको बताए ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतमा विद्युत निर्यात गरेर नेपालले आर्थिक प्रगति गर्नसक्ने बताएका थिए । मोदीले नेपालबाट भारतमा विद्युत निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताएका थिए ।
उनले सम्बोधनको क्रममा भनेका थिए,‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत परियोजनामा अझ धेरै भागेदारीका विषयमा सहमति व्यक्त गरेका छौं, अब नेपालले भारतका लागि विद्युत निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।