मंसिर १२ रौतहट ।। रौतहट कारागारभित्र एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेको बेथिति र हिंसाको अनेक पाटो सतहमा आएको छ । १६ महिनादेखि चौकीदारको जिम्मेवारीमा रहेका विक्की भनिने अनिरुद्ध सिंहको ‘ग्याङ’ले कारागारभित्र ‘आतंक’ मच्चाउँदा त्यहाँका कैदीबन्दीहरु आन्दोलित भएका हुन् ।

कारागारभित्र महिनौंदेखि गुपचुप अवस्थामा चलिरहेको बेथिति कसरी एकाएक बाहिरिने अवस्थामा पुग्यो त ? यसको गुत्थी पहिल्याउन मंसिर १ मा फर्कनुपर्छ, जुन दिन त्यहाँ रहेका कैदी लडाइ साह (तेली) कारागारभित्रकै शौचालयमा घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका थिए ।

अपराह्न १ बजे पासो लगाएको अवस्थामा भेटिएका लडाइको गौर अस्पतालमा मृत्यु भएको थियो। मृत्यु आत्महत्याका कारण देखिए पनि कारागारभित्रै केही कैदी र मृतकका परिवार नाराबाजीमा उत्रिए, उनको हत्या गरिएको दाबीसहित। उनीहरुको आरोप थियो– ‘यो आत्महत्या होइन, हत्या हो ।

कारागारभित्रै कैदीको मृत्यु भएपछि मानवअधिकार आयोगको टोली मंसिर २ गते नै घटनाको वस्तुस्थिति बुझ्न कारागार निरीक्षणका लागि त्यहाँ पुगेको थियो। मानवअधिकार आयोगको प्रादेशिक कार्यालयबाट वीरबहादुर बुढा मगरको नेतृत्वमा पुगेको उक्त टोलीमा एड्भोकेसी फोरम र इन्सेकका प्रतिनिधि पनि सहभागी थिए ।

आयोगको टोली मूलतः लडाइ साहको मृत्युबारे बुझ्न पुगेको थियो तर कैदीहरुसँग बयानको क्रममा कारागारको चित्र त झन् ‘डरलाग्दो’ पो भेटियो ।

दुई नाइकेविरुद्ध यौन हिंसाको आरोप 

कारागार निरीक्षणका लागि पुगेको मानवअधिकार आयोगको टोलीसँग करिब १ सय जना कैदीबन्दीहरु खुल्ला स्थानमै आफ्नो समस्या सुनाइरहेका थिए । त्यही भिडमा करिब २२–२५ वर्षका दुई पुरुषले यस्तो पीडा सुनाए, जसले टोलीका सदस्यहरुलाई नै चकित बनायो ।

उनीहरुले त्यति धेरै कैदीहरुकै माझ आफूहरुमाथि दुई नाइकेहरुले यौन शोषण गरेको आरोप लगाए । आरोपितमध्ये एक थिए, भाइ नाइके जयबाबु सिंह। उनी चौकीदार विक्की सिंहका काका पनि हुन् । अर्का आरोपित रामनरेश यादव भने दाइ नाइके हुन् ।

‘दुवै जनाले आर्थिक प्रलोभनमा पारेर अप्राकृतिक मैथुन गरी यौन शोषण गरेको कुरा दुई पीडितले करिब सय जना कैदीहरुका अगाडि हामीलाई सुनाएका थिए,’ निरीक्षणमा सहभागीमध्ये एक अधिवक्ता रामकुमार महासेठले नेपाल समयसँग भने, ‘एक जनालाई २५ सय रुपैयाँ दिने लोभ समेत देखाइएको रहेछ । एक पीडितलाई त ‘कारागारभित्र राम्रो सुविधा, राम्रो खाना दिन्छु । भतिजा मेरो चौकीदार हो, तँलाई केही अप्ठेरो हुँदैन’ भन्दै तीन पटकसम्म सम्पर्क राखेको कुरा सुनाए । अर्का एक पीडित सार्वजनिक हुन चाहेनन् तर उनले माथि त दुवै जनाले यौन शोषण गरेको आरोप छ ।

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेको बेथिती र हिंसाको अनेक पाटो सतहमा आएको छ । 

पीडितको यो गुनासोबारे मानवअधिकार आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयदेखि कारागार प्रशासनसम्मलाई जानकारी गराइसकेको छ । तर पनि सम्बन्धित निकाय मौन छन् ।

‘सिडिओ कृष्णबहादुर शाही र जेलर शम्भु यादवले यसलाई सामान्य रुपमा लिनुभयो, अचम्म त के लाग्यो भने सारा कैदीबन्दीहरु विक्की सिंहको विपक्षमा देखिँदा पनि सिडिओ साबले ८–१० जनाबाहेक सबै उसको पक्षमै छन् भन्ने तर्क पेश गर्नुभयो । त्यसकारण उहाँले नै विक्की सिंह समूहलाई जेलभित्र संरक्षण गरेजस्तो देखियो,’ टोलीमा सहभागी अर्का एक सदस्यले भने ।

कारागारभित्र विक्की ग्याङको ‘दादागिरी’

गौरमा रहेको रौतहटको जिल्ला कारागारभित्र हाल ३ सय ७७ जना कैदी छन्, जसमध्ये एक नाबालक र १२ जना महिला छन् । हाल चौकीदार रहेका विक्की सिंह यो कारागारमा १५ वर्षदेखि कर्तव्य ज्यान र बलात्कारसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् । उनी र उनका काका जयबाबु एउटै मुद्दामा कैद भुक्तान गरिरहेका छन् ।

विक्कीले चौकीदारको जिम्मेवारी सम्हालेयता कारागारभित्र कैदीहरुमाथि दमन, अन्याय र अत्याचारको शृंखला चलेको भन्दै त्यहाँ रहेका कैदीबन्दीहरु यतिखेर आन्दोलित अवस्थामा छन्। विक्कीलगायत उनको ग्याङमा रहेका करिब एक दर्जन नाइकेहरुको विरुद्धमा तेलीको आत्महत्यापछि कैदीबन्दीहरु जेलभित्रै विद्रोहमा उत्रिएका छन् ।

तनावको स्थिति सिर्जना भएपछि विक्की लगायत उनको समूहमा रहेका ७ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयले अन्तै लगेर राखेको छ । ‘उनीहरुलाई भित्र लगे मारकाट हुने अवस्था छ, त्यसैले ठूलो दुर्घटना हुन नदिने मामिलामा हामी सचेत छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले भने ।

कारागारका विद्रोही कैदीहरुले हाल बाहिर राखिएका चौकीदार विक्कीसहित ७ कैदीहरुको सरुवाको माग राखेका छन् । विक्कीको ग्याङले कारागार प्रशासनलाई मनोमानी हिसाबले चलाएको उनीहरुको आरोप छ। मंसिर २ गतेबाट विद्रोह थालेका त्यहाँका कैदीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र मानव अधिकार आयोगलाई जेलभित्र भएको अनियमितता र अत्याचारविरुद्ध सामूहिक हस्ताक्षरमा पत्र नै काटेका छन् ।

पत्रमा उनीहरुले त्यहाँ रहेका कैदीहरुलाई ४ सय प्रतिशतभन्दा महँगोमा सामान किन्न बाध्य बनाएको, बाहिरबाट सामान मगाउँदा कुटपिट गर्ने गरेको आरोप पनि नाइकेहरुमाथि लगाएका छन् ।

‘हामी पुग्दा पनि कारागारभित्र चरम रुपमा बेथिती देखियो,’ निरीक्षणमा सहभागी रामकुमार महासेठले भने, ‘खाद्यान्न अति महँगो रहेछ। जस्तो– बाहिर १ सयमा पाइने तरकारीको मूल्य त्यहाँ ३ सय रुपैयाँ छ। ५० रुपैयाँमा पाइने खाद्यान्न त्यहाँ २ सयमा बेचिने रहेछ । मृतक तेलीको परिवारले मात्रै अढाइ वर्षको समयमा ५ लाख रुपैयाँ रकम बुझाइसकेको हामीलाई सुनाए ।

कैदीहरुको अपिल पत्रमा युवा बन्दीहरुलाई अप्राकृतिक मैथुन गरिएको विषय पनि उल्लेख छ। जेलर शम्भु यादवको सेटिङमा त्यहाँ रहेकी एक महिला कैदीमाथि चौकीदार विक्की सिंहले जेल बाहिर लगेर यौन सम्पर्क राखेको र गर्भवती बनाएको आरोप पनि कैदीबन्दीको पत्रमा उल्लेख छ ।

तनावको स्थिति सिर्जना भएपछि विक्की लगायत उनको समूहमा रहेका ७ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयले अन्तै लगेर राखेको छ ।

उनीहरुले जेलका चौकीदार सिंहसँगै सहचौकीदार विनोद यादव, नाइके जयबाबु सिंह, नाइके मसीर देवान, नाइके रामनरेश राय यादव र सहनाइके जितेन्द्र कुशवाहा लगायत सात जनालाई जेल प्रवेशमा रोक लगाएका छन् । उनीहरुलाई अन्यत्र सरुवा गर्नुपर्ने माग कैदीहरुको छ ।

तर, जेल प्रशासनले हालसम्म उनीहरुको सरुवा गरिसकेको छैन। तर, उनीहरुका विरुद्ध आन्दोलनको नेतृत्व गर्ने १० जना र यौन शोषणका आरोपित जयबाबु सिंहलाई रामेछापको कारागारमा सरुवा गरिसकेको छ ।

पैसा तिर्न नसक्नेलाई कुटपिट

रौतहट कारागारमा हरेक महिनाको १, १० र २० गते जेलमा कैदीहरुसँग माछा, मासु लगायत खानेकुराको पैसा उठाउने दिन हो। तेली झुण्डिएको अवस्थामा फेला परेको दिन पनि १ गते नै हो। परिवारको आर्थिक अवस्था कमजोर भएका तेली शरीर बन्धक, अपहरण र जबरजस्ती करणीको मुद्दामा २१ वर्षको जेल तोकिएर सजाय काटिरहेका थिए ।

त्यसैले जेलभित्रै कतिपय कैदीले आर्थिक कारण नै उसले आत्महत्या गरेको हुनसक्ने मानव अधिकार आयोगको टोलीसँग बताएका थिए । यद्यपि यो छानविनकै विषय हो । ‘आत्महत्या होइन यो हत्या नै हो,’ उनी भन्छन्, ‘अघिल्लो दिनमात्रै मेरो ऊसँग कुरा भएको थियो । जुन केटीलाई उसले शरीर बन्धक गरेर बलात्कार गरेको आरोप लगाइएको थियो, उसले नै पछिल्लो समय मलाई घुमाउन लगेको थियो भनेर बयान परिवर्तन गरिसकेको अवस्था थियो। तैपनि जिल्ला अदालतले मेरो भाइलाई कैद तोकेको थियो। तर, हामीले पुनरावेदन गरिसकेका थियौँ । पेशी ८ गतेलाई तोकिएको अवस्था थियो । तँ अब छुट्छस् भनेर मैले उसलाई भनेको पनि थिएँ। त्यसैले उसले आत्महत्या गर्यो भन्नेमा मलाई विश्वास छैन ।

कैदीहरुसँग पैसा उठाउने जो–जसको घरबाट पैसा आएको हुँदैन, जजसले पैसा दिन सक्दैनन्, तिनीहरुलाई चौकीदार विक्की सिंहको समूहले खुब कुटपिट र यातना दिने गरेको आरोप कैदीवन्दीहरुको छ । रौतहटको कारागारबाटै डेढ वर्षको जेल सजाय कटान गरेर निस्किएका राजेश गिरीले यसको सत्यता पुष्टि गरे ।  ‘हो, त्यहाँ पैसा ढिला गर्ने, नहुने मान्छेलाई लौरोले हानिन्छ, खुब कुटपिट गरिन्छ, झापु हानिन्छ, जेलभित्र ठूलो अन्याय छ तर बाहिर केही आउँदैन, भित्रभित्रै डरत्रास देखाएर लुकाएर दबाएर राख्छन्,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here