मकवानपुर, २२ पुस ।। मध्यवर्ती आसपासका बासिन्दालाई वन्यजन्तुका कारण आफूले लगाएको अन्नबालीसँगै ज्यान जोगाउन मुस्किल हुँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपुर, मकवानपुर मनहरीलगायतका बासिन्दा वन्यजन्तुका कारण समस्यामा छन् । बाघ, गैँडा, मृग, बँदेल, हात्तीलगायतका जनावर बस्तीमा पसेर क्षति गर्न थालेपछि स्थानीय चिन्तित भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–१ मा गएको पुस ९ गते बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको ज्यान गएको थियो ।

वन्यजन्तुले बाली र घरपालुवा चौपायालाई नोक्सान पुर्याउने मात्रै नभइ मानवीय क्षतिसमेत हुन थालेपछि समस्या जटिल बनेको कावासोती–१० की सीता पङ्गेनीले गुनासो गर्नुभयो । मध्यवर्तीका बासिन्दालाई जनधनको सुरक्षा गर्न मुस्किल भएको मध्यबिन्दु नगरपालिका–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

यस्तै, मकवानपुरको मनहरीका स्थानीय बासिन्दा पनि वन्यजन्तुबाट समस्यामा परेका छन् । मनहरी गाउँपालिका वडा नम्बर–७ को रमौली, प्रतापपुर र बिजौनालगायत क्षेत्रमा जङ्गली हात्ती प्रवेश गर्न थालेपछि स्थानीय समस्यामा परेका हुन् । मनहरी पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्छ ।

संरक्षणकर्मी प्रेमशङ्कर थारूले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जभित्र पर्याप्त घाँसेमैदान निर्माण गर्ने र वन्यजन्तुलाई मानव बस्तीमा आउन नदिन पर्खालसहितको मेसजाली लगाउनुपर्ने बताउनुहुन्छ । वन्यजन्तुको संरक्षणसहित यसको क्षति रोक्न सरकारीस्तरबाट ठोस योजना र त्यसको कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here