जनकपुरधाम, २५ मंसिर ।। आइतबार बिहानको घाम झुल्केसंगै मधेश सरकार सत्ता तथा प्रतिपक्षी दलका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार छिरिसकेका थिए । काठमाडौंको कठ्यांग्रिदो चिसोमा पुग्दा पनि मुख्यमन्त्री सरोजकुमार यादवसंगै पुगेका दलका नेताहरु नरम थिएनन् । मधेश गरम हुनुको कारण हो, पटक पटक संघीय सरकारबाट आश्वासन पाएको प्रहरी समायोजन ऐन, निजामती ऐन लगायत कार्यान्वयन नहुनु ।

यी मागहरु कार्यान्वयन गर्न मधेशले कार्तिक २३ मा प्रधानमन्त्री प्रचण्डलाई दिएको एक महिने अल्टिमेट शनिबार सकिएको छ । त्यसैले आन्दोलन घोषणा गर्नु अघि मधेश सरकार प्रतिपक्षी एमालेको प्रस्तावमा गत मंसिर २० गते प्रदेशसभाबाट सर्वसम्मत पारित संकल्प प्रस्ताव बोकेर मुख्यमन्त्री नेतृत्वको टोलि अन्तिम पटक ध्यानाकर्षण गराउन काठमाडौं पुगेको छ ।

पारित संकल्प प्रस्तव प्रधानमन्त्रीलाई बुझाउँदै मुख्यमन्त्री यादवले अल्टिमेटम सकिएको स्मरण गराउँदै आन्दोलनको चेतावनी दिए । ‘अल्टिमेटमको समयभित्र हाम्रो माग पूरा भएन । अब संघर्षमा जान्छौं’ प्रधानमन्त्रीलाई भनेको कुरा सुनाउँदै मुख्यमन्त्री यादवले भने । तर, प्रधानमन्त्री प्रचण्ड भने बिगत झै आफू मागहरुप्रति सकरात्मक रहेको भन्दै टोलिलाई थुमथुम्याउन खोजे । मागहरु सम्बोधन गर्न केही समय अझ थप्नु पर्ने प्रचण्डको आग्रह थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here