काठमाडौं, २९ असोज ।। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने भन्दै गलत सूचना प्रवाह भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री खड्काले सेनाको नियमावली चलाएर अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च भन्दै गलत सूचना प्रवाह भएको बताएका हुन् ।

उनले सेनाको नियम प्रक्रिया अनुसार उमेर र अवधिले भ्याउँदा पदावधि थप्ने सैनिक, ऐन,नियमको व्यवस्था रहेको स्पष्ट पारे । सैनिक नियमका आधारभन्दा दायाँबायाँ सरकार जाने कल्पना पनि गर्न नसकिने भन्दै खड्काले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको जिकिर गरे ।

गलत सूचनाका आधारमा बनेको समाचारले भ्रम सिर्जना गरेको उनको भनाइ छ। उनले वर्तमान सरकारले मुलुकको संविधान ऐन कानुन नियम दायाँबायाँ गर्ने कल्पना पनि गर्न नसक्ने जिकिर गरे ।

अधिकारी माओवादीका पूर्वलडाकु हुन् । माओवादी लडाकुहरूको सेनामा समायोजन हुँदा अधिकारीले महासेनानीको दर्जा पाएका थिए ।सेनामा समायोजना भएका १ हजार ३१३ जना माओवादी लडाकुहरूमध्येबाट उनले सबैभन्दा उपल्लो दर्ताको महासेनानी पद पाएका थिए ।

२०७६ असोज १ गतेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अधिकारीलाई एक पटकका लागि विशेष पद सृजना गरी बढुवा गरेको थियो ।

यही असोज १ गतेदेखि अवकासमा जान लागेका अधिकारीको पदावधि तीन वर्ष थपिदिएको छ । विशेष पद सृजना गरी सहायक रथीमा पदोन्नति भएका अधिकारीको सरकारले पदावधि थपिदिएपछि प्रधानसेनापति बनाउन राजनीतिक चलखेल सुरू भएको स्रोतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here