जनकपुरधाम, ०५ असोज ।। मधेश प्रदेश स्थायी राजधानी जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा बिहीबार दिनको १२ बज्दै थियो । ओपीडीमा चेकजाँचका लागि टिकट लिन काउण्टरमा मानिसको भीडभाड लागेको थियो ।

ओपीडी कक्ष बाहिर पनि बिरामीले भरिभराउ थियो । तर, अस्पतालमा एक/ दुईजना चिकित्सकबाहेक विशेषज्ञ चिकित्सक थिएनन् । १० बजेदेखि डाक्टर कुरिरहेका बिरामी दिउँसो ३ बजेसम्म कुरिरहे । तर, चिकित्सक आइपुगेनन् ।

ओपीडी कक्षको क्रमशः १६,१७,१८ नम्बर कोठामा फिजिसियन/मेडसिन विभागका एकजना मात्रै चिकित्सक थिए । बिहीबार चिकित्सकहरू, सिद्धिदात्री झा, डा.रामदेव चौधरी, डा. विपिन कुमार यादव, डा. दिग्विजय कुमार ठाकुर,रामेश्वर महासेठ, डा. श्याम बाबु साह र डा. तारकेश्वर महतोलगायतको डयुटी थियो । तर, एकजना डा.सिद्धिदात्री झा मात्र उपस्थित थिए । अन्य ७ जना चिकित्सक अनुपस्थित रहे। जसमा डा.ठाकुर बिरामी बिदामा बसेका थिए ।

अर्को ओपीडी कक्षको कोठा नं. २८ पेडियाट्रिक विभागमा चिकित्सकहरू विभागीय प्रमुख डा.वैद्यनाथ ठाकुर,डा.अभय मण्डल, डा. जामूनप्रसाद सिंह र डा.जितेन्द्र ठाकुरको ड्युटी थियो । तर, चारजना डाक्टरमध्ये कोही पनि उपस्थित थिएनन् । यस्तै, ओपीडीको कोठा नं. १४ प्रसूति विभागमा डा.राजदेव महतो,डा.अनिल कुमार पण्डित,डा.चन्द्रनारायण यादव उपस्थित रहेपनि डा.स्वेता साह थिएनन् ।

बिहान ११ बजेदेखि पुर्जा काटेर लाइन लागेका बिरामी ३ बजेसम्म चिकित्सकको पखाईमा थिए । तर, समयमै चिकित्सक नआउँदा कतिपय बिरामी फर्किएर निजीमा गए। कोही दिनभर कुरेर घर जान बाध्य भए ।

जनकपुरधाम उप–महानगरपालिकाका -२ बस्दै आएका विन्देश्वर यादव हातखुट्टा सुन्निएर चेकजाँच गराउन अस्पताल आएका थिए। समयमा चिकित्सक नआउँदा घण्टौंदेखि लाइनमा बसिरहेको उनले गुनासो पोखे । उनले भने,‘हात खुट्टा सुन्निएको छ। बाहिर लाइनमा डाक्टर अब आउँछन् तब आउँछन् भन्दै घण्टौंदेखि कुराइरहेको छ। तर,डाक्टरको अत्तोपत्तो छैन ।

सिरहा मिर्चैयाकी आमोद यादवले चिकित्सक नहुँदा रिपोर्ट देखाउन पनि घन्टौं लाइन बस्नुपर्ने बाध्य रहेको बताए। ‘अस्पतालमा डाक्टर खोजेको घण्टौं भयो एकछिन भनेर गएको डाक्टर घण्टौं भइसक्यो। जचाएर आएको घण्टौं भयो, तर रिपोर्ट हेरिदिने चिकित्सक छैन ।

अस्पतालमा चिकित्सकको दरबन्दी नभएको भने होइन । स्वास्थ्य विभागका अनुसार प्रादेशिक अस्पतालमा केही एकाध दरबन्दी बाहेक अन्य चिकित्सकको दरबन्दी पुरा छ । यद्देपि अस्पतालमा चिकित्सक भेटिदैनन् । अस्पतालमा डाक्टर फेला पार्नु भनेको मन्दिरमा भगवान् फेला पार्नु जस्तै भएको जानकी चोक जनकपुरका युवा सुशिल कर्णले बताए ।

उनले भने,‘यहाँको डाक्टरको हाजिर सरकारीमा काम नीजिमा हुन्छ । अस्पतालमा पुगेका बिरामीले डाक्टर खै भन्दै सोधेमा नर्स उल्टै थर्काउन थर्काउँछन्।’कर्णले सहज हिसाबले अस्पतालमा डाक्टर भेट्नु र उपचार पाउनु भगवान पाउनु सरह भएको बताए । आफ्ना निजी क्लिनिक अनी प्राइभेट अस्पतालमा मनग्गे आम्दानी हुने भएकाले अस्पतालमा हाजिर गरेर टाप कस्ने गरेको सेवाग्राहीको गुनासो छ ।

एक कर्मचारीले भने, ‘डाक्टरहरू आउनु हुन्छ। तर, १२ नबज्दै हाजिर लगाएर निस्किहाल्नु हुन्छ। हामी करारका कर्मचारीले बोल्न मिलेन। बोल्यो कि अर्को पटक म्याद थप नहुने पीरलो हुन्छ ।

जनकपुरधाम उप–महानगरपालिका १४ मुजेलियाका रमेश राउत भने,‘सरकारी अस्पतालमा समस्या धेरै छ । हल कसरी गर्न भन्ने सोच कसैमा छैन । जसलाई समस्या परेको छ,उसले बोल्ने ठाउँ छैन् जसले समस्या समाधान गर्नुपर्ने हो,उसलाई वास्तै छैन । अनि समस्याको हल कसरी होस् ?

‘हामीले सेवा कहिले पाउने ? बिरामीले समयमा उपचार नपाउने,अस्पतालका डाक्टर निजी क्लिनिक धाइरहने,’उनले थपे। प्रादेशिक अस्पतालका अधिकांश चिकित्सक हाजिर गरेर टाप कस्ने गरेको अस्पतालकै कर्मचारीहरू बताउँछन् ।

चिकित्सकहरू ढिलो आउने र छिटो जाने परम्परा नै बसेको अस्पतामा कार्यरत एकजना नर्सले नाम नछाप्ने शर्तमा अन्नपूर्णलाई बताइन् । उनले भनिन,‘यहाँ कोही कसैले केही भन्न सक्दैन,कस्ले भन्छ, सबैको आ–आफ्नै राजनीतिक पहुँच छ । जसलाई जतिबेला मन लाग्यो आउने र जति बेला मन लाग्यो जाने सिस्टम बसिसकेको छ । १० बजेदेखि ४ बजेसम्म ओपीडीमा बस्नुपर्ने डाक्टरहरू एक /दुई घण्टा पनि अस्पतालमा बस्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here