डेस्क, २६ भदौ ।। पाठेघर मुखको क्यान्सरबाट खोपले जोगाउँ छ । पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)ले नेपाली महिलाहरूलाई पिरोलिरहेको छ। नेपाली महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा छ । सरकारले यो रोगको रोकथाम र लाग्नै नदिने कार्यलाई प्राथमिकतामा राखेको छ । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिन लागिएको छ। यो खोप सुरक्षित छ । तोकिएको स्वास्थ्य संस्थामा गएर लक्षित किशोरीले खोप लगाउन सक्नेछन् ।
यो खोपको शुभारम्भ काठमाडौंमा भदौ २७ गते बुधबार हुँदैछ । यो खोप कार्यक्रमलाई प्रदर्शन (डेमोन्सट्रेसन) का रूपमा सञ्चालन गर्न लागिएको हो । हाल यो खोप २० हजार मात्रा मात्रै उपलब्ध छ । यसपटक १० देखि १४ वर्षका किशोरीलाई ६ महिनाका फरकमा दुई मात्रा दिन लागिएको हो । भविष्यमा गाभी (ग्लोबल अलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) को सहयोगमा नियमित खोपमा समावेश गर्ने योजना छ। खोपका लागि प्रस्ताव पेस गरिसकेका छौं । यो प्रस्ताव स्वीकृतिको चरणमा छ । निकट भविष्यमै खोप ल्याउने हाम्रो दृढ संकल्प छ । आशा गरौं, सम्भवतः आगामी वर्ष यो खोप सेवा सबैमहिलाका लागि विस्तार हुनेछ ।
खोपको पहिलो मात्रा किशोरीलाई दिने तयारी अन्तिम चरणमा पुगेको छ । खोप लिन आफ्नो उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्छ। दोस्रो मात्रा लिन पहिलो मात्रा लिएको खोप कार्ड साथमा लिएर पहिलो मात्रा लिएको अस्पतालमै जानुपर्छ । एचपीभी खोपले एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको रियाक्सन भएमा, ज्वरो आएमा र गर्भवती अवस्थामा यो खोप लिनुहुँदैन । यो खोप सेवा सातवटै प्रदेशका अस्पतालमा उपलब्ध हुनेछ ।
त्यसबाहेक ३० देखि ६४ वर्ष उमेरका महिलाले ५÷५ वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको जाँच गर्नुपर्छ। यस प्रकारको सुविधा प्रायःजसो सबै अस्पतालमा उपलब्ध छ। यो रोगको रोकथाम र नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ ।
(डा. लाल स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक हुन् ।)