बाग्लुङ, १५ पुस ।। बाग्लुङका दुर्गम गाउँ अझै पनि अन्धकारमा छन् । विद्युत् विस्तारको काममा ढिलाइ भइरहेको छ । जिल्ला सदरमुकाम बाग्लुङ बजारसँग जोडिएका पालिकाहरुमा केही वर्ष अगाडि नै केन्द्रीय लाइन पुगे पनि पश्चिम बाग्लुङका धेरै पालिकामा पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले दुर्गम गाउँमा प्रसारण लाइन विस्तारका काम थाले पनि पूर्णता पाउन नसकेको हो ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गएको माघदेखि विद्युत् सेवा शुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको छैन । अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भैरहेको छ । तमानखोलामा पनि गएको वर्षदेखि नै पोल गाड्न थालिएको थियो । तर अहिलेसम्म बिजुली बलेको छैन ।

तार विस्तार गर्ने काम भैरहेको छ । निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम भैरहेको छ । केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरणको बाग्लुङ शाखाका प्रमुख पवन पौडेलले बताउनुभयो । निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरि काम भैरहेको उहाँको भनाइ छ ।

पश्चिम बाग्लुङका लागि गलकोटमा सबस्टेशन निर्माण भएको छ । बुर्तिबाङमा पनि १३२ केभीको सबस्टेशन निर्माण गरिँदैछ । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासहित निसीखोलाको देवीस्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन पुग्ने प्रमुख पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here