काठमाडौं, २४ भदौ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर उतैबाट चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले सम्भावित एजेण्डबारे सुझाव लिन आइतबार बिहान बैठक बोलाएका थिए ।

सुझाव ग्रहणपछि प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणलाई बढिभन्दा बढी फलदायी बनाउने प्रयास गरिरहेको बताएका छन्। उनले भने,’तपाईंहरूले दिनुभएको सुझावलाई मनन् गर्दै एजेण्डाहरू तय गरेर भ्रमण प्रभावकारी बनाउने कोसिस गर्नेछु ।

पूर्वप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीहरूले चीन भ्रमण जानुअघि उसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था समीक्षा गर्न आवश्यक रहेको बताए । उनीहरूले नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वास दिलाउनुपर्ने,सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्नुपर्ने,एकअर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयलाई ध्यानमा राख्न सुझाव दिएका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले सरकारले छिमेकीलगायत विश्वका सबै मुलुकहरूसँग सन्तु्लित सम्बन्ध राख्ने र आफू नेपालको असंलग्न परपराष्ट्र नीतिमा दृढ रहेको बताएका थिए ।

यसैगरी प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको शान्ति प्रक्रिया र विकासका प्रयास,जलवायु परिवर्तनले पारेको असरलगायत विषयमा जानकारी गराउने बताए ।

प्रधानमन्त्री दाहालले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली,शेरबहादुर देउवा,माधवकुमार नेपाल,लोसपाका अध्यक्ष महन्थ ठाकुर,जनमत पार्टीका अध्यक्ष सीके राउत,जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,नेमकिपाका सचिव प्रेम सुवाल,पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे,प्रकाशचन्द्र लोहनी,प्रदीपकुमार ज्ञवाली,बिमला पौडेललगायत सहभागी थिए ।

प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदै छन् । उतैबाट चीन भ्रमणमा जाने कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here