एजेन्सी, १७ भदौ ।। वर्षौंदेखि विवादित बन्दै आएको अछामको वैद्यनाथ गुठीको जग्गाको विषयलाई लिएर बैद्यनाथ गुठी जग्गा पीडित सरोकार समिति आन्दोलनमा उत्रिएको छ । पीडितहरूले विभिन्न सघंर्षको कार्यक्रम समेत अगाडि सारेका छन् ।

गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंले विभिन्न व्यक्तिले आफ्नो भनि दाबी गर्दै आइरहेको जग्गा गुठीको रहेको निर्णय गत वर्ष नै गरिसकेको छ । तर, आफूहरूले आर्जेको जग्गा गुठीको हो भनेर जबरजस्ती सुकुमबासी बनाउने षडयन्त्र भएको आरोप वैद्यनाथ गुठी जग्गा पीडित सरोकार समितिले लगाउँदै आएको छ ।

आफ्नो नामको जग्गा गुठीको नाममा कायम रहने भनेर गरेको फैसला विरुद्ध १ सय ७२ परिवारले पुनरावेदनमा जाने तयारी गरेको बैद्यनाथ गुठी जग्गा पीडित सरोकार समितिका अध्यक्ष दिपेन्द्र बोहराले जानकारी दिए ।

साँफेबगर नगरपालिका १ वैद्यनाथ, वडा नम्बर २ श्रीकोट,वडा नम्बर ९ बुढाकोट र चौरपाटी गाउँपालिका ४ को मदने क्षेत्रका स्थानीयले आफूहरूलाई अन्याय परेको भन्दै शनिबार मन्दिर क्षेत्रमा नाराबाजीसहित धर्ना दिएका छन् । ठुलाबडाहरूको मिलोमतोमा मन्दिर आसपासको जमिन टाठाबाठाहरूले पहिले नै आफ्नो नाममा गरिसकेको र सोझा साझा किसानको जमिन गुठीको नाममा पारिएको आन्दोलनमा सहभागी लक्ष्मी जोशीले बताइन् ।

उनले भनिन्, ‘डाँडापाखाको जमिन गुठीको हुने मन्दिर छेउकै जमिन व्यक्तिको नाममा छ,मन्दिरको आयस्रोत हुन्छ भनेर मन्दिरलाई बाली तिर्दै आयौं तर, अहिले आएर हामीलाई नै पीडित बनाइयो,लालपुर्जा व्यक्तिको नाममा छ, पुर्जामाथि बैद्यनाथ गुठी भनेर लेखिएको भरमा गुठीको भन्न मिल्दैन ।’

डोटीमा तिरो (मालपोत दस्तुर) तिर्न जानुपर्ने झन्झटबाट मुक्त हुन वैद्यनाथ गुठीमा तिरो तिर्न थालेपछि लालपुर्जामा वैद्यनाथ गुठी लेखिएको दाबी लोकबहादुर बोहरा गर्छन् । उनी भन्छन्, ‘पहिले तिरो तिर्न डोटी जानुपर्थ्यो,जान टाढा हुने भएको र मन्दिरको खर्च पनि चलोस् भनेर गुठीमा तिरो तिर्न सुरु गरिएको हो,त्यसपछि लालपुर्जामा वैद्यनाथ गुठी लेखियो। अहिले विवाद त्यसैको हो। जग्गा हाम्रै हो ।

पुर्जामा गुठी लेखेर समस्या भएको उनको भनाइ छ । सरकारले हेरफेर नै नगरी रैकर जग्गालाई समेत गुठीमा राखेपछि कतिपयको उठिबास लाग्ने अवस्था रहेको कृष्ण विकले बताए । ‘केही बाठा र पुजारीहरूले पहिले भएको नापीमा नै गुठीको जग्गा आफ्नो नाममा गरिसके । गरिब निमुखाहरूको जग्गा गुठीमा परेको छ,’ विकले भने । उनले सम्बन्धित कार्यालय र जिल्लाबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदलाई ज्ञापन बुझाइएको उनले बताए ।

मन्दिर वरपरको जग्गा व्यक्तिको नाममा रहे पनि ०५७ सालमा सरकारले जग्गा रोक्का गर्न लगाइएको थियो । त्यसपछि झन् विवाद सुरु भयो । विवाद बढ्न थालेपछि २०६५ सालमा सदरमुकाममा भएको जग्गाको ३० प्रतिशत र गाउँतिर भएको जग्गाको २५ प्रतिशत राजस्व तिरेर आफ्नो नाममा गर्ने नीति ल्याइएको थियो ।

केहि व्यक्तिहरुले उक्त तोकिएको रकम तिरेर आफ्नो नाममा समेत गरे । उक्त नीतिको विषयमा संस्थानले आफूहरूलाई जानकारी नगराएको र गुपचुप तरिकाले मन्दिर आसपासको जमिन मिलीमतोमा व्यक्तिको नाममा गरिएको बोहरा बताउँछन् । तर, संस्थानले भने पटकपटक जानकारी गराउँदा समेत वास्ता नगरेपछि उक्त नीति खारेज गरिएको बताउँदै आएको छ ।

वैद्यनाथ धाम गुठीको नाममा विक्रम सम्बत् १८५२ मा राजा रणबहादुर शाहबाट लगाइएको लालमोहर अनुसार ३ गाउँ र ९ खेत ४० मुरी माटो (करिब एक हजार रोपनी जग्गा) रहेको इतिहास छ । त्यसपछि १९८६ मा भएको नापीमा मन्दिरको नाममा एक हजार रोपनी जग्गा रहेको देखायो ।

तर अहिले गुठीका नाममा १ सय ३७ रोपनी जग्गा मात्र छ । मन्दिर अहिले साँघुरिदै गएको छ । अतिक्रमणको कारण मन्दिर साँघुरिदै गएको हो । तीन वर्ष पहिले सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गुठिको जग्गा अतिक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । गुठीको ८ सय ६२ रोपनी ३ पैसा जग्गा अतिक्रमण भएको छ । मन्दिरको घेरापर्खालभन्दा बाहिरको जग्गा समेत मन्दिरको नाममा छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here