दोलखा, १४ भदौ ।। दोलखाको शैलुङ गाउँपालिकामा आगोमा जलेर एकजना घाइते भएका छन् । एक वर्षदेखि काम्ने समस्या भएका शैलुङ गाउँपालिका– ३ बिरौटा निवासी २२ वर्षीय युवालाई देवी चढेको र धुपबत्ती खुवाउने भन्दै माताकहाँ लगिएको थियो। धुपबत्ती खुवाउनुपर्ने भन्दै माताले जबरजस्ती आगोको भुंग्रोमा पस्न लगाएपछि युवा जलेर घाइते भएका हुन् ।
बिरामी युवक आगोमा जलेर घाइते भएपछि ती मातालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले माता भनिने ४४ वर्षीया बुद्धिमाया तामाङलाई नियन्त्रणमा लिइ प्रहरी चौकी मागादेउरालीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घटनाबारे थप अध्ययन गरी आवश्यक कारबाही गरिने दोलखा प्रहरीले जनाएको हो । आगोले पोलेर घाइते भएका मानबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
गएको वर्षदेखि काम्ने समस्या भएका मानबहादुर श्रेष्ठलाई बुधबार झाँक्रीको विधिअनुसार धुपबत्ती खुवाउने भन्दै नजिकैको कुवाटोलनिवासी माता तामाङकहाँ लगिएको थियो । माताले बलिरहेको आगोको भुंग्रोमा खाली खुट्टा पस्न लगाएको शैलुङ गाउँपालिका– ३ का वडाध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए । वडाध्यक्ष तामाङले बलिरहेको आगोमा नराख्न आग्रह गरे पनि ती माताले निभेको आगोको खरानीमा नचाउने भन्दै आफूलाई समेत ढाटेको बताए ।
गाउँघरमा धुपबत्ती खुवाउने र उत्पन्न भएका देवीदेवता टुंगो लगाउने नाममा बलिरहेको बत्ती खुवाउने चलन भए पनि बुद्धिमायाले बलिरहेको आगोमा पस्न लगाएपछि गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए ।
आगोमा पस्नुअघि मानबहादुरले पहिला गुरु पस्नुपर्ने त्यसपछि मात्रै आफू जाने भने पनि ती माताले पहिला चेला नै जानुपर्ने भन्दै आगोको खलीमा पस्न लगाएको प्रत्यक्षदर्शीले बताए ।