काठमाडौं, १२ भदौ ।। सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का केही बुँदाहरूप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले फौजदारी अभियोगमा राजनीतिक आवरण दिई उन्मुक्ति दिनेलगायतका विषयहरूप्रति आपत्ति जनाएका हुन् । उनीहरूले केही नेपाल संशोधन ऐनमार्फत् धेरै कानुन संशोधनका लागि ल्याउन नहुनेमा जोड दिएका थिए ।

नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संसदलाई हेपेर गोलमोटल रूपमा नेपाल ऐनलाई संशोधन गर्न अघि बढाइएको आरोप लगाएका छन् । उनले जघन्य अपराधमा संलग्नलाई जोगाउनेगरी ल्याइएको प्रावधान स्वीकार्य नहुने बताए । यसअघिको सरकारले लेखेको ड्राफ्टको भारी नबोक्न कानुन मन्त्रीलाई उनले सुझाव दिए। थापाले संसदलाई पेलेर बहुमतका आधारमा विधेयकलाई अघि बढाउन खोजे नयाँ ढंगले कुराको सामनाका लागि तयार हुन प्रधानमन्त्रीलाई चेतावनी दिए । सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का केही बुँदाहरूप्रति आपत्ति जनाए ।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले मुलुकी फौजदारी कार्यविधिसंहिता संशोधनका लागि विधेयकमा राखिएका विषय थयास्थितिमा पारित गर्न नहुने बताए । विधेयकमा रहेका विषयमा थप छलफल तथा संशोधन गरी विधेयक अघि बढाउनुपर्ने उनले बताए ।

त्यस्तै एमाले सचेतक महेश बर्तौलाले एकैपटक धेरै विषय एउटै विधेयकमा राखेर संशोधन गर्दा कानुन निर्माणका सबै पक्षमा ध्यान पुग्न नसक्ने तर्क गरे । उनले फौजदारी प्रकृतिका घटनाहरूलाई पनि विधेयकमा हल्का ढंगले राखिएको भन्दै आपत्ति जनाए । विभिन्न ७९ कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here