काठमाडौं, १२ भदौ ।। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यकता रहेको बताएका छन् । साउदी अरब र युएई भ्रमणपश्चात स्वदेश फर्किएका लिङ्देनले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा धार्मिक सद्भाव कायम राख्न हिन्दू, बुद्ध, किराँतलगायतका सबै धर्मलाई समान सम्मानसहितको हिन्दू राष्ट्र आवश्यकता रहेको बताएका हुन् ।

धरानको घटनालाई संकेत गर्दै देशमा बलियो र इमान्दार नेतृत्व नभएकोले समस्या देखिएको दाबी गरे । उनले भने,‘जनतामा चोट पुग्ने जुन क्रियाकलाप भइरहेको छ । त्यो भनेको दिल्लीमा बनेको १२ बुँदे सहमतिले भएको हो । र त्यसले तय गरेको मार्ग चित्र हो । अहिलेपनि बहुसंख्यिक जनसंख्याको आस्थामा जुन चोट पुग्ने गरी जुन क्रियाकलाप भइरहेको छ, त्यसमा सरकारको उदाशिनता र धर्म निरपक्षताको दूष्परिणाम हुन् ।

राप्रपाले प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको नेतृत्व प्राप्त गर्दा कुनै किसिमको लेनदेन नगरेको स्पष्ट पारे । उनले कोसीमा सभामुख र मन्त्री लिने भयो भनेर भ्रम छरिएको र झुट भएको बताए । उनले कोसीमा प्रकियाको हिसाबमा सत्ता गठबन्धनलाई विश्वासको मत दिने अवस्था नरहेको बताए ।

लिङ्देनले संसदीय समितिमा दलहरुको हैसियत अनुसार हुनुपर्ने माग गरेकाले एउटा समिति प्राप्त गरेको जानकारी गराए । उनले प्रश्न गरे, ‘एमालेले ३ वटा समितिको नेतृत्व पाउने भएको छ, के उसले पनि गठबन्धनसँग लेनदेन गरेको हो त । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सांसद दीपकबहादुर सिंह सर्वसम्मत भएका छन् ।

उनले रेमिटेन्स पठाउने नेपालीको समस्यामा सरकारले ध्यान नदिएको बताए । उनले वैदेशिक रोजगारमा जाने नेपालीलाई जाँदा र आउँदा आफ्नै विमानस्थलमा समेत कर्मचारीले दुर्व्यवहार गर्ने गरेको गुनासो पाएको जानकारी गराए। उनले स्वदेशमा रोजगार सिर्जना नहुँदा युवाहरु तल्लोस्तरको काममा पनि विदेश जानुपर्ने अवस्था आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here