काठमाडौं, १० भदौ ।। विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३० वर्षीय समिर आले मगर, ३५ वर्षीया शर्मिला सुनुवार, ४० वर्षीया तारा गुरुङ र ५१ वर्षीय जगतबहादुर खड्का रहेका छन् । नवलपरासी घर भई टोखा बस्दै आएका समिरले क्यानडा पठाइदिन्छु भन्दै महेश पौडेलसहित अन्य दुई जनासँग ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

त्यस्तै शर्मिलाले क्रोयसिया पठाइदिन्छु भन्दै पीडितसँग दुई लाख लिएर सम्पर्कविहीन बनेकी थिइन् । फुड प्याकिङमा मासिक एक लाख बढी तलब हुने आश्वासन दिएर उनले ठगी गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै ताराले नेदरल्याण्ड पठाइदिन्छु भन्दै रविन चौधरीसँग ३ लाख ४५ हजार ठगी गरेकी थिइन्। सुपर मार्केटमा काम लगाइदिने र मासिक एक लाखभन्दा बढी तलब हुने भन्दै उनले चौधरीलाई आवश्वास दिएकी थिइन् । तर पैसा लिएर उनी सम्पर्कविहीन बनेपछि ठगी मुद्दामा पक्राउ गरिएको प्रहरी उपरिक्षक केसीले जानकारी दिए ।

त्यस्तै सल्यान घर भई भक्तपुरको सूर्यविनायक बस्दै आएका जगतले कुवेत पठाइदिन्छु भन्दै दिलीप विष्टसँग एङ्क लाख ९४ हजार ठगी गरेको प्रहरीको भनाइ छ । उनले कुवेतमा बाइक राइडरमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहीको भनाइ छ ।

थप अनुसन्धानको लागि चारै जनालाई ताहचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here