सर्लाही, ०८ भदौ ।। सर्लाही जिल्लाको सदरमुकाम मलंगवास्थित एक सहकारी संस्थाका अध्यक्षले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका छन् । सो क्रममा रकम हिनामिना आरोपमा सहकारीका चार कर्मचारी थुनामा परेका छन् । मलंगवा नगरपालिका–८ मा स्थापना भएको सुविधा बचत तथा ऋण सहकारीले बचतकर्ताको करिब २४ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ ।
सहकारीबाट ठूलो रकम हिनामिना गरेको आरोपमा सुविधाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मल श्रेष्ठसहित अन्य दुई कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह थुनामा परेका छन् । सुविधा बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वर गुप्ता भने फरार रहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार सहकारीबाट रकम लिनका लागि सञ्चालक समितिलाई जानकारी गराउनु नपर्ने नियम साधारणसभाबाट पास गराएका थिए ।
फरार सहकारीका अध्यक्ष गुप्ताको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । गुप्ता दुई कार्यकाल उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्षसमेत भएका थिए । सहकारीबाट रकम हिनामिना भएपछि बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । सहकारीका लागि बजारमा खटिएका बचत अभिकर्ता भने दिनहुँ तनाव खेपिरहेका छन् ।