काठमाडौं २२ साउन ।। सभामुखसहित शीर्ष नेताहरूको दोस्रो बैठक पनि निष्कर्षविहीन बनेको छ । नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठक निष्कर्षविहीन बनेको हो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूको अडान कायम भएपछि बैठक अनिर्णित हुन पुगेको हो ।
सभामुख घिमिरेले संसद सुचारु गर्न नेताहरूबीच गम्भीर छलफल भएको बताए। संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गम्भीर छलफल भए पनि सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न नसकेको बताए ।
उनका अनुसार बैठक मंगलबार विहान १० बजे बालुवाटारमा बैठक बोलाइएको छ । भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ । आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरूबीच सहमति हुनेछ,’ उनले भने ।
उनले सहमतिको विकल्प नभएको बताए। ‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरूले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु,’ उनले भने ।
उनले दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा आफू उभिँदै आएको बताए । यही अनुरुप मैले सूचना टाँसेर पटक-पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन । आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं,’ उनले भने ।