काठमाडौँ ।। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा प्रकाशित पुस्तक भारततर्फ लैजाने क्रममा सीमामा कडाइ हुने गरेको गुनासो आउने गरेकाले उक्त समस्या सम्बोधनका लागि पहल गर्न नेपालस्थित भारतीय राजदूतावासको ध्यानाकर्षण गराएका छन् ।

नेपाल–भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौँमा आयोजित पुस्तक विमोचन एवं परिचर्चा कार्यक्रममा कुलपति राईले नेपाल र भारतमा प्रकाशित पुस्तकमा दुवै देशका पाठकको सहज पहुँच पुर्याउन सके पुस्तकको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । सो अवसरमा उनले डा.श्वेता दीप्तिद्वारा लिखित ‘साहित्य शोध समिधा’ र डा.रामदयाल राकेशद्वारा नेपालीबाट हिन्दी भाषामा अनुदित ‘समकालीन नेपाली कविताएँ’ शीर्षकका दुई पुस्तक विमोचन गरेका थिए ।

दुवै पुस्तकहरू दुई देशबीच भाषिक, साहित्यिक, सांस्कृतिक एवं कलाको आदानप्रदानमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उनले दुई देशबीचको सम्बन्धलाई भाषा, साहित्य, कला र संस्कृतिमार्फत थप सुदृढ पार्न भारतीय दूतावासले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रशंसा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here