काठमाडौं ०५ असार ।। परराष्ट्रमन्त्री एनपी साउदले भारतले संसद भवनमा राखिएको म्युरल (नक्सा) बारे प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित राजदूतावासलाई निर्देशन दिएको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले म्युरलबारे भारतीय पक्षसँग बुझेर प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिइसकिएको बताएका हुन् ।

मन्त्री साउदले नवनिर्मित भारतीय संसद भवनमा राखिएको म्युरलमा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको क्याप्सनमा लेखिएको बारे पनि समितिलाई जानकारी गराएका थिए। उनले भने, ‘यो विषय राजनीतिक विषय नरहेको भनेर भारत सरकारका तर्फबाट आधिकारिक धारणा समेत विदेशमन्त्रीबाट आइसकेको व्यहोरा समितिलाई अवगत छ।यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकिएको छ ।

भारतीय संसद भवनमा राखिएको म्युरलबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले नेपालको अन्तराष्ट्रिय सीमाबारे समिति, समितिका सदस्य, सरकार सबै स्पष्ट र दृढ रहेका पनि बताए । यस विषयमा हाम्रो राष्ट्रिय सहमति रहेको छ । २०७७ असार ४ मा संविधानको दोस्रो संशोधनमार्फत् नयाँ नक्सा समेटी संविधानको अनुसूची ३ मा रहेको नेपालको निशाना छाप अद्यावधीक गरिएको तथ्य अवगत नै छ,’उनले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त म्युरलबारे भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताका बारेमा पनि प्रष्ट पारेका थिए । मन्त्री साउदले भने,‘मैले केही साताअघि एक भारतीय मिडियालाई दिएको अन्तर्वातामा यस विषयका बारेमा बोलेको कुरा लाई लिएर भएको चर्चाबारे पनि स्पष्ट पार्न चाहन्छु,उक्त समयमा सो म्युरलसँग सम्बन्धित जानकारी पूर्णरुपमा आइसकेको थिएन । प्रष्ट जानकारीको अभावमा यो विषयमा कुनै ठोस टिप्पणी गर्नको लागि त्यो उपयुक्त समय थिएन ।

मन्त्री साउदले नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तराष्ट्रिय सिमानामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here