गोरखा १७ भदौ ।। मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि माओवादी केन्द्रका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सचिव तीनैजनाको नाम गोरखाबाट सिफारिस भएको छ । पार्टीको जिल्ला समन्वय समितिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम क्षेत्र नं. १ बाट र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम क्षेत्र नं. २ बाट सिफारिस गरी पठाएको जनाएको छ । त्यस्तै केन्द्रीय सचिव हितराज पाण्डेको नाम पनि गोरखा २ बाटै सिफारिस गरेको छ ।

क्षेत्र नं. २ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्ने बन्ने चर्चा छ । प्रचण्डको नामसँगै क्षेत्र नं. १ बाट बहालवाला सांसद हरिराज अधिकारी र सुशीला सिंखडाको नाम पनि सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ । क्षेत्र नं. २ बाट वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, केन्द्रीय सचिव हितराज पाण्डेसहित चार जनाको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य चुडामणि खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिस भएको हो ।

त्यस्तै क्षेत्र नम्बर १ को प्रदेश ‘क’मा केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ र परशुराम रम्तेलको नाम सिफारिस भएको छ । ‘ख’ बाट केन्द्रीय सदस्य कृष्ण धिताल, गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य धु्रब भट्टको नाम सिफारिस भएको माओवादी केन्द्र गोरखाले जनाएको छ ।

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्र्की र प्रदेश समिति सदस्य धना तमुको नाम सिफारिस भएको छ भने प्रदेश क्षेत्र ‘ख’ बाट केन्द्रीय सदस्य भगवती तिवारी, बारपाक सुलिकोट गाउँ कमिटीका अध्यक्ष नरबहादुर गुरुङ र बासु पोखरेलको नाम सिफारिस भएको छ ।

समानुपातिक तर्फ पनि नाम टुङ्गो लगाइएको बताइएको छ तर सार्वजनिक गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here