काठमाडौं १० भदौ ।। प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताएका हुन् ।
‘राष्ट्रपुकार साप्ताहिकले पञ्चायतकालमा लोकतान्त्रिक गतिविधि, लोकतन्त्रवादीमाथि भएको अन्याय बाहिर ल्याएर प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गरेको थियो, त्यो पत्रिकाको प्रकाशन र सम्पादनको काम दाहालले गर्नुभएको थियो । उहाँले त्यसबेला नडराइकन चलाएको कलमले प्रजातन्त्र पुनःस्थापनाका लागि भूमिका खेलेको छ, काठमाडौँ नगरपालिकाका तत्कालीन प्रमुख चित्रकारले हामीजस्ता युवालाई राजनीतिक संस्कार सिकाउनुभएको थियो । समाजमा लोकतान्त्रिक मूल्यमान्यताका बारेमा जागरण फैल्याउनुभएको थियो,’ प्रधानमन्त्री देउवाले भने ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासमा योगदान गर्ने विश्वास पनि उनले व्यक्त गरे। जनता लोकतन्त्र रक्षाका लागि जुट्ने प्रधानमन्त्री देउवाको विश्वास छ ।