काठमाडौं २६ साउन ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडको विभिन्न मोडालिटीको विषयमा छलफल भइरहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट निस्किएका कार्यदल सदस्यसमेत रहेका उनले भने, ‘बैठकमा सिट बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल भइरहेको छ। कार्यदलका सदस्यहरुले खुलारुपमा आफ्नो धारणा राखिरहेका छन्।’
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्ता गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादीबाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन्।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।