काठमाडौँ २५ साउन ।। ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरु बन्दीहरू आन्दोलित बनेका हुन् । कारागार प्रशासनका एक कर्मचारीका अनुसार बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् ।

४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा दुई समूहबीच झडप समेत भएको थियो । कारागार प्रमुख सुवास लामिछानेले भने सीमित व्यक्तिविरुद्ध अर्को समूहले नाराबाजी गरेको बताए । विरोधको क्रममा कारागारभित्र कुटपिट पनि भएको हुनसक्ने उनले बताए । तर यसबारे छानबिन हुने उनको भनाइ छ ।

तर कारागारभित्र अराजक गतिविधि गर्नेहरूको पहिचान गरी उनीहरूमाथि कानुनी कारबाही गरिने कारागार प्रमुख लामिछानेले बताए । ‘सीमित व्यक्तिको विरोध गर्दै अर्को समूहले नाराबाजी गरेको छ । अराजक गतिविधि गर्नेहरूबारे हामी छानबिन गरेर कानुनी कारबाही गर्छौं,’ कारागार प्रमुख लामिछानेले भने ।

कारागारभित्र भने बन्दीहरूका नाइकेले नयाँ बन्दीहरूसँग पैसा असुल्ने, महंगोमा सामान बिक्री गर्ने जस्ता दु:ख दिने गरेको असन्तुष्ट समूहको गुनासो छ । साथै नाइकेलाई कारागार प्रशासनले पनि कारबाही नगरेको भन्दै कारागार प्रशासनविरूद्ध पनि उनीहरूले नाराबाजी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here