जनकपुरधाम ०९ साउन ।। जनकपुरधाम उपमहानगरपालिकाले नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्च गरेको छ । जनकपुरधाम उपमहानगरपालिका आर्थिक वर्ष २०७७÷७८ मा गरेको नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्चेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७७/७८ को प्रतिवेदन अनुसार उपमहानगरपालिकाले नगरसभा सञ्चालनमा दुई दिनमा ४३ लाख ८ हजार १२८ रुपैयाँ खर्चेको छ । उपमहानगरपालिकाले सञ्चालन गरेको नगरसभामा कतिजना उपस्थित थिए त्यो खुल्न सकेको छैन। तर उपमहानगरपालिकाले खाना, खाजामा ठूलो रकम खर्च गरेको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले नगरसभामा उपस्थितिको संख्या नखुलेकाले पालिकाका कर्मचारी, पदाधिकारी र अन्य आमन्त्रित व्यक्ति गरी ५५० जनालाई आधार मानेपछि उपमहानगरले प्रतिव्यक्ति ७ हजार ८३३ रुपैयाँ खर्च गरेको जनाएको छ । नगरसभामा उपस्थित प्रतिव्यक्ति खर्च ७ हजार ८३३ देखिएकाले यसलाई स्वाभाविक मान्ने स्थिति छैन’, महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।

उपमहानगरपालिकाले नगरसभामा ८०३ केजी मासुमा मात्र ७ लाख १० हजार खर्चेको छ। नगरसभामा उपमहानगरपालिकाले खसीको मासु ६५३ केजी १ हजारका दरले ६ लाख ५३ हजार र कुखुराको मासु १५० केजी ३८० को दरले ५७ हजार तिरेको छ । तर सो समयमा भने मासुको बजार भाउ उपमहानगरपालिकाले खर्चेको भन्दा कम थियो ।

यस्तै, उपमहानगरले दुई दिनको खाना बनाएवापत ज्यालामा १ लाख २५ हजार, नगरसभाको प्रत्यक्ष प्रसारणवापत स्थानीय जानकी टेलिभिजनलाई ९५ हजार, स्टेज सजावट तथा खाना बनाउने आवश्यक भाँडामा ३ लाख ३७ हजार ८७०, केसरिया गम्छा ३६० को १ लाख ४२ हजार ४४०, व्याग र छाता १४०र१४० थानको ५ लाख ७४ हजार ७४१, पाइलट पेन ५८० थानको ७७ हजार ९२१ रुपैयाँ खर्चेको छ ।

यसैगरी, चिनी, चियापत्ती, चामल, दाल तथा मसला आदिमा ४ लाख ९६ हजार ४५७, १५५ थान डायरीमा ९८ हजार ४८४, पेश्की रकम ८ लाख ६० हजार, खाजा, कोल्ड ड्रिंक्सलगायत मसला र तरकारी आदिमा ७ लाख ९० हजार २१५ रुपैयाँ खर्चेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here