एजेन्सी ०५ साउन ।। क्रिस्टियानो रोनाल्डो नयाँ क्लबको खोजीमा छन् । तर, त्यो उनको पूर्व क्लब रियल म्याड्रिड भने नहुने स्पेनिस पत्रिका मार्काले बताएको छ । पोर्चुगिज खेलाडी च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्न चाहन्छन् र प्रतियोगितामा आफ्नो गोल सङ्ख्या थप गर्न चाहन्छन् । जुन यो सिजन म्यानचेस्टर युनाइटेडमा सम्भव छैन ।
आगामी फेब्रुअरीमा ३८ वर्ष पुग्ने रोनाल्डो क्लबमा नै रहने युनाइटेडका प्रशिक्षक टेन ह्यागले बताइरहँदा उनी अझै क्लबमा फर्किएका छैनन् । यसैबीच बुधबार रियलमा फर्किनका लागि रोनाल्डो र फ्लोरेन्टिनो पेरेजबीच छलफल भएको समाचार आए पनि त्यसमा कुनै सत्यता नभएको पत्रिकाले बताएको छ ।
म्याड्रिडमा रोनाल्डो देखिएपछि यो हल्ला झनै फैलिएको थियो । तर पत्रिकाका अनुसार रियलको योजनामा रोनाल्डो छैनन् र दुई पक्षबीच कुनै प्रकारको छलफल भएको छैन । रोनाल्डोलाई भित्र्याउन यसअघि चेल्सी र बार्यन म्युनिखले पनि अस्वीकार गरिसकेका छन् ।