जनकपुरधाम ३१ असार ।। मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले विभिन्न सुरक्षा निकायलाई सवारीसाधन तथा विपदबाट उद्धार गर्ने आवश्यक सामग्री हस्तान्तरण गरेको छ। शुक्रबार मन्त्रालयमा एक कार्यक्रमकाबीच गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रहरीलाई ९ वटा भ्यान र २९ वटा मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
मन्त्रालयको तर्फबाट महिन्द्रा कम्पनीको भ्यान अग्नि इन्कर्पोरेटेड, काठमाडौंबाट भ्याटसहित २ करोड ८५ लाख ६५ हजार ९८१ रुपैयाँमा खरिद गरिएको छ भने टीभीएस कम्पनीका १२५ सिसी मोटरसाइकल २९ वटा जगदम्बा मोटर्स, काठमाडौंबाट ५६ लाख ५१ हजार ९९ रुपैयाँमा खरिद गरिएको छ ।
यस्तै बाढी तथा डुबानजस्ता विपदमा उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको हो । मन्त्रालयबाट नेपाली सेनालाई ब्यान्डबाजा प्रदान गरिएको छ ।
सवारीसाधन र उद्धार सामग्री हस्तान्तरण गर्दै मन्त्री साहले आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गाउँघरमा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीलाई सवारीसाधनको आवश्यकता महसुस भएकाले प्रदान गरिएको बताए ।