जनकपुरधाम २० असार ।। मधेश प्रदेशको प्रदेशसभा बैठक बसेको एक घण्टा नबित्दै स्थगित भएको छ । सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले अर्थमन्त्री माथि लागेको आरोपको जवाफ सप्रमाण नआएको भन्दै बैठक अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
केही दिनअघि स्थानीय एक पत्रिकाले अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले नियम कानुनविपरीत आफ्नो जिल्लामा रकम निकासा गरेको समाचार प्रकाशित गरेको थियो । त्यसको मन्त्रालयले कुनै खण्डन नगरेको भन्दै लोसपाका सांसदहरूले मन्त्रीका जवाफ मागेका थिए। तर मन्त्रीले सप्रमाण जवाफ नदिएको भन्दै बैठकमा अवरोध गरेपछि सभामुख सरोज रायले बैठक स्थगित गरेका हुन् ।
मन्त्री साहले सिँचाइ कार्यालय सप्तरीले भौतिक विकास मन्त्रालयलाई भनेपछि मन्त्रालयले जेठ १६ मा निर्णय गरेर पठाएपछि मात्र अर्थमन्त्रालयले बजेटको व्यवस्थापन गरेको जवाफ दिएका थिए । मन्त्रीले सप्रमाण जवाफ दिनुपर्ने र यस विषयमा प्रश्न उठेकाले प्रदेशसभाबाट समिति बनाइ अनुगमन गरेर सभामा सबैलाई जानकारी गराउन समिति गठन गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।