जनकपुरधा ०९ असार ।। मनसुनमा बाढीपहिरो तथा डुबानबाट हुन सक्ने सम्भावित जनधन क्षतिको न्युनकरण गर्न मधेश प्रदेश सरकारले तयारी थालेको छ । बिहीबार गृह तथा संचार मन्त्रालयले तीनै सरक्षा निकाय, स्थानीय प्रशान, रेडक्रस लगायत सम्बन्धित निकायका प्रतिनिधिसंग पूर्व तयारीको विषयमा छलफल गरेको हो ।
बाढीको उच्च जोखिममा रहेका नदी किनारका वस्ती, चुरे उजाड क्षेत्रको छेउछाउका वस्ती, गहिरो तथा सीमावर्ती क्षेत्रमा डुबानमा पर्ने जस्ता वस्तीलाई लक्षित गरी विपद न्युनिकरण तथा उद्धारका लागि पूर्व तयरी स्वरुप छलफल गरेको गृह तथा संचार मन्त्र भरतप्रसाद साहले बताए । यसपटक बढी बाढी, पहिरो, डुबान जस्ता जोखिम हुने देखिएकाले पूर्व तयारीमा जुटेको मन्त्री साहको भनाइ छ ।
बैठकबाट मधेश प्रदेशमा कम्तिमा एउटा हेलिकप्टर २४ घण्टा स्टेण्डवाई राख्नको लागि नेपाली सेनालाई सिफारिस गर्ने, प्रत्येक पालिकामा कम्तिमा एउटा हेलिप्याड अनिवार्य बनाउने निर्णय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । सकेसम्म सबै वडामा हेलिप्याड बनाउन प्रयास गर्ने, नभए कम्तिमा पालिकामा एउटा अनिवार्य बनाउने उनले बताए ।
उनका अनुसार मनसुनजन्य विपदबाट हुने सम्भावित जनधनको क्षति न्युनिकरणका लागि सुरक्षा निकायकाक हरेक युनिटलाई उद्धार सामग्री उपलब्ध गराउने, सुरक्षा निकायमा र्यापिड रिस्पोन्स टिम परिचालनका लागि मेडिकल सामग्री उपलब्ध गराउन सामाजिक मन्त्रालयसंग समन्वय गर्ने निर्णय भएको हो ।
असार १७ गतेदेखि मनसुन जन्य विपद उद्धारको लागि कमला नदीमा पूर्वअभ्यास गर्ने, विपदबाट बच्न जनचेतना फैलाउन विपद सम्बन्धि स्थानीय भाषामा अडियो तथा भिडियो सामग्री उत्पादन एवं प्रशारण गर्ने जस्ता निर्णय भएको जनचेतना सचिव महतोले बताए ।