सप्तरी २४ जेठ ।। सप्तरीमा यात्रुबाहक बस पल्टिँदा एक महिलाको मृत्युु भएको छ । अन्य १० यात्रु घाइते भएका छन् । मुसहरनीया बसबिटी राजविराज सडकखण्ड अन्तर्गत रुपनी ५ स्थित पाँचकिलो भन्ने ठाउँमा आज ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण पल्टिएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका वडा न.–१ रायपुर गाउँका ६८ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
साे दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी अन्य १० जना व्यक्ति घाइते भएका छन् । घाईते हुनेहरुमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.६ कठौना बस्ने बर्ष ४५ की बिलेवति देवी साह, रुपनी गाउपालिका वडा न.२ लौवति बस्ने बर्ष ३० कि निर्मला देवी मंडल, बर्ष ३२ की गौरी मंडल, शम्भुनाथ न.पा. ११ बस्ने बर्ष ५६ को रामनरायण चौधरी, डाक्नेश्वरी नगरपालिका वडा न.१ बस्ने बर्ष ३३ की लिला देवी सदा,बर्ष ३४ को धर्मेन्द्र सदा,रुपनी गा.पा. ३ कटैया बस्ने बर्ष ३४ को रामा कुमार साह,सिरहा कर्जनहा न.पा. ८ बस्ने बर्ष ३६ को ओमनरायण पासवान, निजको श्रीमति बर्ष ३१ की ईन्द्र देवी पासवान,निजको छोरा बर्ष ७ को आनन्द पासवान रहेका छन् ।
उनीहरुको रायपुरस्थित युनिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । सो माइक्रो लहानबाट राजविराज जाँदै थियो ।