काठमाडौँ
स्थानीय स्वादमा मित्रता र प्रेमको कथा ‘कबड्डी’ श्रंखलाले समात्दै आएको प्रमुख सूत्र हो । त्यही मित्रताका भावनामा आउने उतारचढाव अनि प्रेमको कबड्डी अर्थात सोल्टिनी पाउने उत्कट चाहना कबड्डीको तेस्रो श्रृंखलासम्म दोहोरियो ।सजिलै अनुमान गर्न सक्ने क्लाइमेक्स, उस्तै लाग्ने पटकथा अनि पुरानै कथालाई तोडमोड गरेर कबड्डी श्रृंखला सक्ने चलाखीले निर्देशकीय सिर्जनशीलतामाथि पनि प्रश्न उठाउने ठाउँ रहन्छ । चुस्त संवाद, पात्रहरूको सफल अवतरण अनि कलाकारहरुको अभिनयले ‘कबड्डी ४’लाई हेरुन्जेलको रमाइलोमा सीमित गराइदिएको छ ।
‘कबड्डी’मा मैयालाई काजीको आँखै अगाडिबाट विवेकले सहर भगाउँछ । दोस्रोमा सोल्टिनी बमकाजीसँग भाग्छिन् । तेस्रोमा कासी सोल्टिनी आफ्नो प्रेमीसँगै भाग्छिन् ।
अब चौथोमा के काजीले आफ्नो सोल्टिनी पाउँछन् त ? यही प्रश्नले दर्शकसमक्ष ‘कबड्डी ४ : द फाइनल म्याच’ प्रतिक्षित बन्यो । तर, कथामा केही नयाँपन नभेट्दा ‘कटप्पा ने बाहुबलीको क्यों मारा था ?’ भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ पाइसकेका दर्शकका लागि कबड्डीको फाइनल म्याच ‘फ्रेन्ड्सिप म्याच’ भइदियो । फ्रेन्डसिप म्याचमा त्यति मज्जा हुँदैन जति वास्तविक खेलमा हुनेगर्छ । कथामा न त दर्शकलाई उत्सुक बनाउने ट्विस्ट एन्ड टर्न नै छन् न नयाँ विषय नै ।
पहिलो श्रृंखलामा वैदेशिक रोजगारीमा हुने ठगी, दोस्रोमा राजनीति, तेस्रोमा केही हदसम्म अन्तरजातीय विवाहलाई छोएको श्रृंखलाको ‘फाइनल म्याच’मा व्यवसायलाई नै महत्त्वमा राखेको देखिन्छ । ‘फोन पे’ र ‘रोयल स्ट्याग’को विज्ञापन जसरी कथाभित्र घुसाइएको प्रस्टै हुन्छ, त्यसले निर्देशक रामबाबु गुरुङले कबड्डीको ब्रान्डलाई व्यवसायकै लागि चौथो भागसम्म तन्काइएकोमा दुई मत रहँदैन ।
अब ‘कबड्डी ४’को कथातिर प्रवेश गरौं । फिल्मको कथा ‘कबड्डी कबड्डी’को कथाबाट अगाडि बढाइएको छ । वीरकाजी शेरचन(दयाहाङ राई) गाउँकै एक विद्यालयको अध्यक्ष बनेका छन् । प्रेममा सोल्टिनीहरूसँग तीन पटक धोका पाइसकेपछि उनी विवाह र प्रेमदेखि विरक्तिएका छन् । साथीहरू बिके(विजय बराल) र छन्त्याल(बुद्धि तामाङ) अझै काजीको बिहे होस् भन्ने चाहन्छन् । त्यसैबीच गाउँमा शान्ति(मिरुना गुरुङ)को प्रवेश हुन्छ ।
शान्ति वीरकाजी अध्यक्ष भएकै विद्यालयमा शिक्षक बन्न आइपुग्छिन् । मास्टर सकेर गाउँ फर्केका बमकाजी(सौगात मल्ल)को नजर नयाँ सोल्टिनीमा पर्छ । सोल्टिनीलाई आफ्नो बनाउने दौडधूपमै कथाको विकासक्रम, केन्द्रीय द्वन्द्व र क्लाइमेक्स लेखिएको छ । ‘कबड्डी ४’मा नयाँ छिन् त केवल सोल्टिनी । हरेक श्रृंखलामा परिवर्तन हुँदै आएको सोल्टिनीको नयाँ अनुहार दर्शकका लागि ‘सरप्राइज’ बन्दैन । त्यसैले ‘कबड्डी ४’निर्देशक गुरुङको सबैभन्दा कमजोर श्रृंखलामा हो भन्दा फरक नपर्ला ।
औसत पटकथामा तयार भएको कथाको विकासक्रममा नौलोपन भेटिँदैन । मुखियाले वंश जोगाउनकै लागि सौतेनी खोज्दै हिँडेको विषय त्यति विश्वासिलो पनि लाग्दैन । थकाली संस्कृतिको ‘छोप्पा’ हान्ने प्रचलन र सोल्टीप्रेमले खासै केन्द्रीय द्वन्द्वमा दर्शकलाई बाध्न सक्दैन ।
पुरानै कथामा नयाँ सोल्टिनी थपेर भनिएको कथाले दर्शकलाई क्लाइमेक्ससम्म बाँधेर राख्न हम्मेहम्मे बनाउँछ । तर, पात्रहरुको कुशल अवतरणाम भने निर्देशक गुरुङले ध्यान दिएका छन् । झाँक्री र छन्त्यालको द्वन्द्वलाई केही दृश्यमै मिलेको देखाइएको छ । दु:खान्त प्रेमसँगै बिके चरित्रको अवतरण भएको छ । दर्शकले खुबै मन पराएको काजी पात्रलाई पनि अन्तिमसम्म न्याय दिइएको छ ।
फिल्मको सबैभन्दा बलियो पक्ष भनेको संवाद हो । चोटिला संवादले कथामा प्राण भरिदिएको छ । फिल्मको पार्श्व ध्वनिमा पनि रोहितले उतिकै मिहेनत गरेको देखिन्छ । ‘केशरी’बोलको गीत फिल्ममा जबर्जस्त सुनिन्छ । अभिनयका हिसाबले भने ‘कबड्डी ४’ कमजोर लाग्दैन । अभिनेता विजय बरालले पहिलो श्रंखलादेखि नै अभिनयमा आफूलाई जसरी पस्केका छन् उनी ‘कबड्डी ४’मा झनै उम्दा लाग्छन् । विजय बरालले ‘बिके’ चरित्रलाई आन्तरिक र बाह्य द्वन्द्वलाई ‘कबड्डी’ देखि कबड्डी-४ सम्मै उत्तिकै निभाउनुले उनको अभिनय निखारिँदै गएको आभास हुन्छ ।
‘हैट’ संवादले निकै ख्याति कमाएका बुद्धि तामाङको त्यही संवाद अन्तिम श्रृंखलामा आइपुग्दा उति वजनदार लाग्दैन । तर, छन्त्यालको भूमिकामा उनी पनि बलियो नै लाग्छन् । दयाहाङ राईले काजीको भूमिकालाई झट्ट रिसाइहाल्नेदेखि शान्त स्वभावसम्मको यात्रालाई पर्दामा प्रस्तुत गरेका छन् । अभिनेता सौगात मल्लले बमकाजीको भूमिकालाई जीवन्त बनाइदिएका छन् । बमकाजीले मास्टर डिग्रीको शानलाई अभिनेता मल्लले निकै चलाखीसहित अभिनयमा प्रस्तुत गरिदिएका छन् । शान्त स्वभावमा शान्तिको भूमिकामा देखिएकी मिरुना मगरको अभिनय तारिफयोग्य नै छ ।
‘साइनो’ देखि ‘कबड्डी ४’सम्म आइपुग्दा अभिनयमा उनको निकै मिहेनत देखिन्छ । तर छोप्पा हान्दा आँसु झार्दै लाचार बन्ने कमजोर पात्रको लेखनले अन्य श्रृंखलामा भन्दा फाइनल म्याचमा महिला चरित्र चित्रण निकै सतही लाग्छ । गौमायाले थोरै भूमिकामा पनि आफ्नो अभिनयको उपस्थिति देखाइदिएकी छन् ।
फिल्म अभिनय र संवादको तादम्यले मात्र होइन कथा र पटकथाले जिउँदो बन्ने हो । पुरानो पटकथा र कथाको प्रयोगले ‘कबड्डी-४’ मा रामबाबु गुरुङको स्थानीय स्वादको अभाव खड्किन्छ । यस अर्थमा यो फिल्म व्यावसायिक मारमा सिर्जनामा पर्ने मारको श्रृंखलाको ज्वलन्त उदाहरण बनेको छ ।