जनकपुरधाम १७ जेठ ।। नेकपा एमालेका दुई नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्नै पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् । चुनावमा अन्तर्घात गरेको भन्दै सोलुखुम्बुका एमाले कार्यकर्ताले आफ्नै दुईजना वडा सदस्यलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर कारबाही गरेका छन् ।

गएको स्थानीय तह निर्वाचनमा सोलुखुम्बुको सोताङ गाउँपलिका ४ मा एमालेबाट निर्वाचित वडा सदस्य सन्देश तामाङ र वडा नम्बर २ का निर्वाचित वडा सदस्य दुर्गाप्रसाद राई माथि कालोमोसो भएको हो । एमाले गाउँ कमिटी बैठकमा उनीहरुलाई कालोमोसो, जुत्ताको माला र कुटपिटसहित भौतिक आक्रमण भएको हो ।

चुनावको समीक्षा गर्न डाकिएको बैठकमा तामाङ र राईलाई कांग्रेसको पैसा खाएर पार्टीका उम्मेदवारलाई हराउने काम गरेको आरोप लगाउँदै एमाले कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाउँदै कुटपिट गरेका हुन् ।

गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा तामाङ र राई कांग्रेसको २५ हजार रुपैयाँ खाएर आफ्ना उम्मेदवारलाई हराएको आरोप एमाले कार्यकर्ताले लगाएका छन् ।

एमाले सोताङ गाउँ कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै सोमबार सोताङ गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीप विपरित कांग्रेसलाई भोट हालेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here