काठमाडौं १३ भदौ ।। गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने उद्देश्यले नेपाल नागरिकता विधेयक २०७९ ल्याइएको बताएका छन् ।

राष्ट्रियसभा, विधायन समितिको सोमबारको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छलफलमा उनले कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले सरकारले विधेयक अघि बढाएको स्पष्ट पारे ।

गृहमन्त्री खाणले भने, ‘विधेयलाई अनुमोदन गर्ने सन्दर्भमा प्रतिपक्ष मौन रहेर सहमति जनाएको थियो, विधेयक सबैको साथ र सहयोगमा अघि बढाइएको हो ।

आमा र बावु नेपाली भएर पनि नागरिकता पाउन नसकेर लाखौँ सन्ताति प्रताडित भएको घटना सुनाउँदै गृह मन्त्री खाणले संविधानको प्रतिज्ञा र प्रतिबद्धताअनुसार अनागरिक बनेकाको माग सम्बोधन गर्न लामो प्रयास भएपनि नसकिएको बताए ।

गृहमन्त्री खाणले राष्ट्रपतिको सन्देशमा पनि कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्तिबाट बञ्चित हुनहुन्न भन्नेमा केन्द्रित रहेको बताए । बैठकमा यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, भगवती न्यौपाने र विमला राई पौडेलले राष्ट्रपतिबाट प्राप्त सन्देश र विधेयकबीच मिलन हुन आवश्यक रहेको धारणा राखेका थिए। ।

उनीहरुले वैवाहिक अङ्गिकृत नागरिकता प्राप्तिको प्रावधानका विषयमा नेपाली जनतालाई स्पष्ट पार्न माग गरे । समिति सदस्य प्रमिला कुमारीले नेपाली आमा बावुका जन्मसिद्ध नागरिकता प्राप्त गर्नुपर्ने ठूलो संख्यामा युवायुवती अनागरिक भएर बस्नु परेको बाध्यात्मक अवस्था अन्त्यका लागि अघि बढाइएको विधेयकलाई कहीँकतैबाट रोक्न नहुने विचार प्रकट गरिन् ।

अर्का सदस्य जीतेन्द्रनारायण देवले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको विधेकका बारेमा राष्ट्रपतिबाट प्राप्त सन्देशमा कहीँकतै असंवैधानिक र अनुपयुक्त रहेको भन्ने सन्देशमा नपाइएको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here