काठमाडौं ६ माघ ।। मधेश आन्दोलनमा पहिला सहिद भएका रमेश महतो सहादत लाई बलिदानी दिवसको रुपमा म्नायिने दिवसका क्रममा बुधबार गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले १५ वर्षअघिको हत्याकाण्ड दोहोर्याउने धम्की दिएको भिडिओ सार्वजनिक भएपछि ज. स. पा. लाई धक्का पुग्ने भएको छ । गौर नरसंहार, राइस मिल अनि सीके राउतलाई धम्की ! त्यो पनि भौतिक पूर्वाधारमन्त्री रेणु यादवको मुखबाट । बोली रेणुको मुखबाट फुत्किएपनि धक्का उपेन्द्र यादवलाई लाग्ने भएको छ ।
रेणु यादवलाई भौतिक पूर्वाधार जस्तो आकर्षक मन्त्रालय दिलाउन उपेन्द्र यादवले ठूलै चुनौतीको सामना गरेका थिए । उनले डा. बाबुराम भट्टराईको दबाबलाई थेगेका थिए । महेन्द्र राय यादवको चाहनालाई लत्याएका थिए । महेन्द्र राय भौतिक पूर्वाधारमन्त्री बन्न चाहन्थे तर कृषिमा लगेर रेणुलाई उक्त मन्त्रालय दिलाए ।
उपेन्द्र यादवका कारण रेणु यादवले पटक पटक आकर्षक मन्त्रालय पाउँदै आएकी छिन् । समाजवादी पार्टी फुटाउने बेलामा पनि रेणु नै अघि सरेकी थिइन् जुन असफल बनाइयो । तैपनि, उपेन्द्रले रेणुलाई नै साथ दिएर पदहरु दिलाइरहे ।
यसपटक भने रणुका कारण उपेन्द्रलाई नराम्रो झड्का लागेको छ । रौतहट पुगेर उनले गौर नरसंहारप्रति गर्व गरिन् । सीके राउतलाई लक्षित गरी गौर नरसंहार मच्चाइदिने चेतावनी दिइन् । गौरमा कसरी घेरा हाली माओवादी कार्यकर्ताको कत्लेआम गरिएको थियो त्यसरी सीके राउतका कार्यकर्ताको हालत बनाइदिने धम्की दिइन् ।
७ चैत्र २०६३ सालमा २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या गरिएको घटनालाई रेणुले सम्झने बताइदिन् । यो त्यही घटना थियो जसमा उपेन्द्र यादवविरुद्ध जाहेरी दर्ता छ । त्यतिबेला यादव मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए । फोरमका कार्यकर्ताद्वारा वाइसिएल कार्यकर्ताको हत्या भएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उपेन्द्र यादवमाथि गौर नरसंहारको मुद्दा अगाडि बढाउने चर्चा चलिसकेको थियो । सत्ता ढल्यो यो मुद्दा अगाडि बढेन । तर, रेणुले यो विषयलाई स्मरणमा ल्याइदिइन् ।
गौरमा पुगेर नरसंहारबारे बोलेपछि उपेन्द्र अप्ठ्यारोमा परेका छन् । उनको इच्छाले मन्त्री बनेकी रेणुको पद धरापमा परेको छ । अर्कोतर्फ, गौर नरसंहारमा उनीमाथि लागेको आरोप फेरि चर्चामा आएको छ । मधेशमा पकड बलियो बनाउँदै लगेका सीके राउत रेणु यादवप्रति भन्दा उपेन्द्र यादवप्रति आक्रामक बन्ने देखिएको छ । यसले भविष्यमा हुने चुनावमा चुनौती बढ्न सक्छ । सीके राउतको प्रभाव मधेशमा बढ्दै गएको छ ।