कार्तिक १२ कामठाडौँ ।। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल कोप २६ मा सहभागि हुन बेलायत प्रस्थान गर्दै छ । ​स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली शुक्रवार बेलायत जान लागेको हो ।

परराष्ट्र मन्त्रालयको अनुसार प्रधानमन्त्री देउवा आज विहान १० बजे कतार एयरको उडानबाट लन्डन जान लागेका छन् ।
प्रधानमन्त्री देउवाको यस कार्यकालमा यो पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलाई समावेश गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै बेलायत जाँदै छन् ।
परराष्ट्र मन्त्रालयले अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने जनाएको छ । ग्लास्गो सहरमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुनेछ । प्रधानमन्त्री देउवा कार्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here