काठमाडौं, ११ वैशाख ।। अधिवक्ता स्वागत नेपालले अहिलेसम्म सरकारमा रहेका र पहिले सरकारमा गएका सबै दल बेग्लाबेग्लै नाम गरेका एउटै दल भएको टिप्पणी गरेका छन् । उनले सबै दलको उद्देश्य एकै भएको पनि बताए । उनीहरुको उद्देश्य चुनावमा सबैभन्दा बढी खर्च गर्ने र उक्त खर्च चुनाव जितेपछि असुल गर्ने रहेको उनको आरोप छ ।
उनले दलहरुको अकर्मण्यतालाई परास्त गर्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताए । अधिवक्ता नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘अराष्ट्रिय परतन्त्र पार्टी’ को संज्ञा दिए । रास्वपाका सभापति रवि लामिछाने र उक्त पार्टी इतिहासमा अहिलेसम्मको झुठ र ठग रहेको उनको आरोप छ । एमाले, कांग्रेसले पनि झुठ, ठगी र चोरी गरेका भएपनि रास्वपाले जति नगरेको उनको दाबी छ । उनले गृहमन्त्री लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा दिए ।
‘एउटा सहकारी ठगले म ठगलाई कारबाही गर्छु भन्यो । तपाईँहरुले पत्याउनु भयो । एउटा चोरले म चोरलाई पक्राउ गर्छु भन्यो, पत्याउनु भयो । हाम्रो चेली पन्तको हत्यारा म गृहमन्त्री भएपछि तुरुन्तै पत्ता लगाउँछु भन्थ्यो, पत्याउनु भयो । शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको बेला त्यो आत्महत्या होईन, हत्या हो । म तुरुन्त पत्ता लगाउँछु भन्थ्यो, पत्याउनु भयो ।’ उनले भने, ‘अहिलेसम्म इतिहासमा सबैभन्दा बढी ठग, झुठ र चोरी गर्ने, त्यो मैले राज्य कोषको चोरी भनेको हो । राज्यकोषको चोरी भनेको हो । सांसदको नाममा तलब भत्ता लिएर पार्टीको खातामा ३० प्रतिशत हाल्ने उहाँहरुले निर्णय गर्नुभयो । त्यो देखादेखि राज्यकोषको चोरी हो, डकैती हो, भ्रष्टाचार हो । यस्तो एमाले, कांग्रेसले पनि गरेको छ । तर, त्यो अराष्ट्रिय परतन्त्र पार्टीले जतिको गरेको छैन ।’
पहिचान क्षेत्री, ब्रामण, जनजाति, मधेशी सबैको हुने उनको भनाइ छ । अहिलेसम्म हामीले पहिचानलाई गलत ढंगले बुझेको उनको भनाइ छ । सबैको पहिचानको रक्षा हुनुपर्ने उनले बताए । अहिले इलाम–२ को उपनिर्वाचनका सन्दर्भमा थेगिमसँग सबै दलका उम्मेदवार डराइरहेको उनको दाबी छ ।