काठमाडौं, ०१ चैत ।। विभिन्न समयमा तस्करी गरेर नेपाल भित्र्याईएको सुन छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर छानबिन समितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लामो अध्ययन र जाँचबुझ गरेको छ ।

मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो । आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी थिए ।

सुरुवातमा तीन महिनाको कार्यावधि दिइएको आयोगका लागि सरकारले गत पुसमा दुई महिना म्याद थप गरेको थियो । थपिएको दुई महिनामा समेत काम पूरा नभएपछि फागुन १४ मा बसेको मन्त्रिपरिषद् बैठकले पुन: फागुन मसान्तसम्म म्याद थप गरेको थियो ।

आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान दायरामा ल्याएका ३३ जनासँग बयान, विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग राय/परामर्श एवं केही भन्सार क्षेत्रको निरीक्षण र कागजात अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो ।

भेप र ब्रेक सुमा लुकाएर ११ महिनाको अवधिमा ३ सय ६३ केजी सुन भित्रिएको पुष्टि सीआईबीले गरिसकेको छ । त्यसकै आधारमा दायर मुद्दा यतिबेला जिल्ला अदालतमा विचाराधीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here