जनकपुरधाम ०१ असार ।। जानकी मन्दिरले विजुलीबत्तीको बक्यौंता ७८ लाख रुपैयाँ महसुल किस्ताबन्दीमा तिर्ने भएकको छ । महसुल नतिरे लाइन काटिदिने ३ दिने अल्टिमेटम पश्चात जानकी मन्दिर किस्ताबन्दीमा महसुल तिर्न सहमत भएको हो ।

विद्युत प्राधिकरणको जानकी मन्दिरमाथि लामोसमयदेखिको ७८ लाख १३ हजार २९७ रुपैयाँ बाँकी छ । पटक पटक महसुल तिर्न प्राधिकरणले तिर्न ताकेता गरेपनि जानकी मन्दिरले बेवास्ता गर्दै आएको थियो ।

गत जेठ २३ गते प्राधिकरण जनकपुरले तीनदिन भित्र महसुल नतिरे लाईन काटिदिने अल्टिमेटम दिएको थियो । त्यस पश्चात जानकी मन्दिर महिनामा ३ लाख २७ हजारको दरले किस्तामा महसुल तिर्न सहमत भएको हो ।

अब महिनाको ३ लाख २७ हजार रुपैयाँको दरले महसुल दुईवर्षसम्म किस्ताबन्दीमा तिर्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए । महसुल तिरिदिन विभिन्न निकायसंग आग्रह गरेपनि नतिरेपछि लाईन काटिने अवस्थामा बाध्य भएर मन्दिरले नै तिर्न सहमत भएको उनले बताए ।

जानकी मन्दिरमा महिनाको लाखौं रुपैयाँ भेटी चढ्छ भने जानकी मन्दिर छेउका विवाह मण्डप ठेक्का लागेको आम्दानी आउने गर्छ । तर, मन्दिरले महसुल नतिर्दा जानकी मन्दिरको चर्को आलोचना हुँदै आएको छ ।

महन्थ दासले चढेको भेटी र विवाह मण्डपबाट आएको आम्दानीले जानकी मन्दिरमा पूजासामग्री, दैनिक निःशुल्क भोजन, विभिन्न उत्सवसहित व्यवस्थापनमा खर्च गर्ने गरेको कारण विद्युत महसुल तिर्न नसकेको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here